वैदेशिक रोजगारीमा गएका तीन छोरालाई डेढ दशक अन्तरालमा गुमाएकी मालिका गाउँपालिका–२ रुम बेली गाउँकी लीलमती रोकाले साहिँलो छोरा थमबहादुरको राहदानी लुकाइदिइन्। लीलमतीलाई पति धनबहादुरले समेत साथ दिएपछि थमबहादुर गाउँमै कृषि पेसामा सक्रिय भए।

वैदेशिक रोजगारीको सिलसिलामा धनबहादुर र लीलमतीका चार भाइ छोरामध्ये माहिलाको १५ वर्षअगाडि कतारमा, जेठाको मलेसियामा र कान्छाको २०७४ चैत ११ गते मलेसियामा मृत्यु भएको थियो। उनीहरूलाई सम्झेर लीलमती र धनबहादुरका आँखा अझै पनि रसाइरहेका छन्।

गाउँमा विदेशबाट आउने युवालाई देख्दा आँसु बगाउने गरेकी लीलमतीले भनिन्, ‘तीन छोरा गुमाएँ, अब मेरा सन्तानले विदेशमा पाइला टेक्नु नपरोस्।’ उनका दुई छोराको सुतिरहेको अवस्थामा र एउटाको ड्युटीका क्रममा मृत्यु भएको थियो। एकमात्र जीवित सन्तान पनि विदेश गए पुरानै घटना दोहोरिने चिन्ताले उनीहरूलाई सताउने गरेको छ। ‘बुढेसकालको सहारा अब एउटा छोरो छ, तीन छोरालाई दैवले लगे’, लीलमतीले भनिन्।

उनले अब आफ्ना सन्तानलाई विदेशमा जानुनपर्नेगरी गाउँमै कृषि, पशुपालन सुरु गरेको बताइन्। बेली आमा समूहको अध्यक्षसमेत रहेकी लीलमतीले गाउँको विकासमा समेत समय दिइरहेकी छन्। ‘गाउँका अरू छोराहरूलाई पनि विदेशमा सुरक्षित हुन अनुरोध गर्छु। विदेशबाट कोही फर्किंदा बितेका छोराहरू नै लस्करै आएजस्तो हुन्छ’, उनले भनिन्। छोरा थमबहादुरले पनि आमाबुबाको अनुरोध स्वीकार गरेका छन्। उनले कृषि र बाख्रापालनमा सक्रिय हुने चाहना व्यक्त गरे। ‘म विदेश जाँदा घरपरिवारमा खुसी आउँदैन। धन कमाएर फर्किए पनि आमाबुवाको मनमा शान्ति हुँदैन’, उनले भने।

कान्छो भाइको मृत्युपछि आमाबुवाले आफूलाई विदेश नजान पटकपटक आग्रह गरेको उनले बताए। औषधिउपचारका सिलसिलामा आमाबुवालाई लिएर बेनी आएका थमबहादुरले भने, ‘आमाबुबालाई एक्लोपन महसुस हुन दिन्नँ। अब बाँकी जीवन गाउँमै बिताउँछु।’

प्यारालाइसिसबाट पीडित ७५ वर्षीय बुवा धनबहादुर र पेट तथा मुटुकी रोगी ७१ वर्षीया लीलमतीले नियमित औषधि सेवन गर्नुपर्छ।  लीलमती र धनबहादुरले विदेशमा गुमाएका छोराहरूको सम्झनामा स्थानीय विदेशमा गुमेका तीन छोराको सम्झनामा देउराली आधारभूत विद्यालय जेम र ज्ञान विकास आधारभूत विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। ‘छोराको सम्झनामा भविष्यमा पनि सकेको सहयोग गर्छु। धन भएर होइन, छोराको सम्झना आउँदा सहयोग गर्न मन लाग्छ’, लीलमतीले भनिन्।