कन्ट्रयाक्ट ट्रेसिङमा परेका पश्चिम म्याग्दीको मंगला गाउँपालिकका दुई जनालाई कोरोना भाइरस संक्रमण भयो। संक्रमतिको सम्पर्कमा रहेका मंगला–४ की एक महिला र वडा नं ५ अर्मनका यूवामा कोरोना पुष्टीले समुदायस्तरमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ। बेनी अस्पतालमा उपचारका लागि आएका दुईजनामा बिरामीमा समेत कोरोना देखियो।

कोरोना संक्रमणको लक्षण सहित असोज २६ गते अस्पतालको ओपिडी सेवामा उपचारका लागि पुगेका पर्वतको जलजला गाउँपालिका–३ का ४९ बर्षिय र रघुगंगा गाउँपालिका–५ रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत ४३ बर्षिया पुरुषमा समेत कोरोना पोजेटिभ देखियो ।

चाडपर्वको रौनकता छाएसँगै जनस्वास्थ्य सुरक्षामा लापरवाही र मानिसहरुको आवतजावत बढ्न थालेपछि पहिलोपटक म्याग्दीमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई कोरोना पुष्टीले समुदाय तहमै फैलन थालेको छ।

संक्रमति मध्ये जलजला–३,स्थायी घर भएका पुरुष कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए भने हाइड्रोपावरका मजदुर भारतीय हुन् । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई समेत कोरोना देखिनुले समुदायमा कोरोनाको जोखिम धेरै भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

‘पहिलोपटक ट्रेसिङलाई कोरोना पुष्टीले म्याग्दी पनि अव जोखिमको घेरामा पर्यो,‘स्बाब दिएपछि घरमै बस्नुपर्नेहरु पनि समुदायमा देखिनु राम्रो संकेत होईन्’ प्रमुख लम्सालले भने । उनले उपचार र बैदेशिक प्रयोजनका लागि जिल्ला बाहिर गएका पाँचजनामा कोरोना देखिएकाले विदेशबाट आउने भन्दा देशभित्रबाटै आवतजावत गर्नेहरूबाट कोरोना फैलिने सम्भावना उच्च रहेको बताए ।

जिल्लामा यसअगाडी संक्रमतिको ट्रेसिङमा परेकाको नतिजा नेगेटिभ आएको अवस्थामा त्रसित नभई सर्तकताका साथ जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने लम्सालले बताए। बावियाचौरबाट काठमाण्डौमा पुगेका एक पूरुषमा कोरोना देखिएपछि सम्पर्कमा आउने क्रम जारी भएकाले लक्षण देखिएकालाई मात्रै पिसिआरका लागि स्बाब संकलन गरिने लम्सालको भनाई छ।

पछिल्लोपटक संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको संख्या धेरै भएकाले समेत सबैको स्बाब संकलन गर्न सम्भव नभएकाले संक्रमतिसँग नजिकैबाट घुलमिल भएकाको स्बाब लिनुपर्ने बाध्यताले समेत कोरोनाका बिरामी गाउँमा छरिने जोखिम रहेको स्वास्थ्यका जानकारहरुको भनाई छ। लकडाउन अर्थात बन्दाबन्दी खुलेपछि म्याग्दीमा विदेशबाट आएका बाहेक समुदायस्तरबाटै आवतजावत गर्ने संक्रमित देखिन थालेपनि जनस्वास्थ्यको न्यूनतम मापदण्ड समेत पालना हुन सकेको छैन्।

लक्षण नदेखिएकाले होम आइसोलेसनमा बस्ने व्यवस्था गर्नुपर्ने अवस्था भएपनि त्यसमा लापरवाही हुँदा पनि नियन्त्रण बाहिर जाने जोखिम रहेकाले कोभिड संकट ब्यवस्थापन समिति समेत अलमलमा देखिन्छ। स्थिती असहज हुन नदिन बेनी सामुदायिक माविका साथै जिल्लाका सबै स्थानीय तहले ५ बेडको आइसोलेसन कक्ष बनाउन तयारी थालेका छन् ।

लुकेर आउनेबाटै जोखिम धेरै
पोखरामा पीसीआर परीक्षण गराउनका लागि नमुना दिएर सार्वजनिक यातायातमा बेनीबाट सुटुक्क घर जाने तयारीमा रहेका एक भारतीय सेनाको कालिपुलको होल्डिङ सेन्टरमा परिचय खुल्यो ।

भारतीय सेनामा कार्यरत बेनी नगरपालिका–३,भकिम्लीका दुई यूवाले असोज २५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि नमुना दिएर फर्किने क्रममा बेनीकै एक होटलको क्वारेन्टाइनमा बसेको अवस्थामा एक जनामा कोरोना देखिएको हो।

‘पिसिआरको रिर्पोट ल्याउन आउनुहोला भन्दै पठाइएको रहेछ,‘रसिद मात्रै देखाएपछि होटलमा राखियो’ होल्डिङ सेन्टरका एक कर्मचारीले भने । पोखराबाट सिधै घरमा पुगेको भए अवस्था थप जटिल हुनसक्ने भएपनि जिल्ला बाहिरबाट अझैपनि विभिन्न बाहना बनाएर लुकिछिपी घरमा जाने गरेको पाइएको छ।

कोरोना संक्रमणको शंकामा नमुना दिएर फर्की आइसकेपछि जनस्वास्थ्यका न्युनतम मापदण्ड पालना नगरी भिडभाडमा निस्कने जोखिम समेत रहेकालेजिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई सचेत हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

प्रशासनको सात बुँदे अपिल
समुदायमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयलेसात बुँदे अपिल जारी गरेको छ । जिल्लाबाट पोखरा काठमाण्डौमा उपचारका लागि गएका र उपचार गरी फर्किनेमा कोरोना संक्रमणको पुष्टी भएपछि थप सर्तकता अपनाउन म्याग्देली समुदायलाई अपिल गरेको हो । चाडपर्वमा बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने, स्थानीय तहले स्वंयमसेवक दस्ता बनाई अनुगमन गर्ने अनुरोध गरिएको छ ।

त्यस्तै होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउने,कुनैपनि खेलकुद, मेलापर्वको आयोजना नगर्ने, दशैंतिहारमा विगतमा गरिने जमघटलाई निरुत्साहित गर्ने, दशैंमा मन्दिर, कोट र शक्ती पिठमा दुईजना पुजारीले नित्य पूजा गर्ने, मन्दिरमा भिडभाड नगर्ने, पञ्चेबाजा सहितका कुनैपनि उत्सवहरु नमनाउने लगायत विभिन्न सावधानी अपाउन सार्वजनिक सूचना जारी गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए ।

‘सरकारी संयन्त्रको एकल प्रयासले सम्भव छैन्,‘अब समुदायस्तरबाटै केही महिना उच्च निगरानी आवश्यक छ’ बेनीअनलाइनसँगको कुराकानरीमा प्रजिअ अधिकारीले भने ।

अन्य महिनाको तुलनामा म्याग्दीमा दशैंतिहारमा काठमाण्डौ लगायतका जिल्लाबाट आउने गरेको अवस्थामा अहिले कोरोना संक्रमण समुदायमै फैलिएकाले उच्च सर्तकता अपनाउनुपर्ने प्रजिअ अधिकारीको भनाई छ । बेनी साप्ताहिकबाट साभार

Leave a Reply