कोरोना महामारीले थुप्रै जनताको रोजिरोटी खोसिएको बेला प्रतिनिधि, प्रदेशसभा सदस्य जस्तै स्थानीय तहका जनप्रतिनिधिले पनि दशैं भत्ता बुझेका छन् ।

कोरोना महामारीको समयमा दशैं भत्ता खाएको भन्दै व्यापक आलोचना भइरहेको अवस्थामा गण्डकी प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले दशैं भत्ता बुझेका हुन् । चाडपर्व भत्ता स्वरूप पालिकाअध्यक्षले २५ हजार, उपाध्यक्ष २५ हजार, वडा अध्यक्ष २० हजार, कार्यपालिका सदस्यले १८ हजार, सभासदस्य १५ हजार बुझेको स्थानीय तहले जनाएको छ।

गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी ऐनमा उल्लेख भए अनुसार कार्यपालिका सदस्य, मनोनित, उपाध्यक्ष र अध्यक्षका साथै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यले समेत ऐनमा ब्यवस्था भए अनुसार नै सुविधा लिएका छन् ।

गण्डकी प्रदेश सरकारले तोकेको नियम भित्र रहेर म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिको खातामा समेत दशैंभत्ता पठाउन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृतको भनाई छ। ‘नियमले दिएको छ, हामीले रोक्न मिल्दैन, उहाँहरुले फिर्ता गर्न सक्नुहुन्छ’ म्याग्दीका एक प्रमुख प्रशासकीय अधिकृतले बेनीअनलाइनलाई भने ।

उनले सेवासुविधा रोकिएको अवस्थामा समेत जनप्रतिनिधिबाट निरन्तर चासो भइरहेको अवस्थामा भत्ता रोक्न सक्ने अवस्था नभएको बताए । स्थानीय तहमा वडा अध्यक्षलाई जिम्मेबारीको भारी बोकाएपनि वडा सदस्यको जिम्मेबारी प्रष्ट नभएपनि दशैंभत्ता लगायतका सुविधामा निकै चासो देखाउने गरेको कर्मचारीको भनाई छ।

दशैंभत्तालाई विपत्त र कोरोना कोषमा जम्मा गर्न सकिन्छ,‘सबैको अवस्था एउटै हुदैन्, हुनेले जम्मा गर्दा सकारात्मक सन्देश प्रवाह हुन्छ’ एक कर्मचारीले भने । म्याग्दीका सबै स्थानीय तहले जनप्रतिनिधिको बैंक खातामा दशैंभत्ता पठाएको जनाएका छन् ।

यता जनप्रतिनिधिले समेत राज्यले दिएको सुविधामा अनावश्यक प्रश्नको कुनै औचित्य नहुने प्रतिक्रिया दिएका छन् । ‘हामीले मागेको होईन्, प्रदेश सरकारको कानुनले दिएको सुविधा लिएका छौ,‘जनताको सेवालाई दशैंभत्तासँग तुलना गर्नु आवश्यक छैन’ एक जनप्रतिनिधिले बेनीअनलाइनलाई भने ।

उनले जनताको सेवा दिएको समयमा कसैको नजर नपुगेको गुनासो समेत गरे। म्याग्दीमा ६ वटा स्थानीय तहमा ४५ वडा छन् । कोरोना संक्रमतिले ब्यक्तिगत रुपमा खर्च गरेर उपचार गर्नुपर्ने घोषणा गरेको सरकारले जटिल अवस्थामा पनि जनप्रतिनिधिलाई चाडपर्व खर्च पठाएको भन्दै स्थानीय तहमा समेत चर्चा सुरु भएको छ ।

Leave a Reply