गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पश्चिम म्याग्दीको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

दुईदिनको म्याग्दी भ्रमणमा निस्कनुभएका मन्त्री गुरूङले मालिका गाउँपालिका–७ बिममा पुगेर जनप्रतिनिधि, विस्थापितसँग भेटघाट सहित छिमेकी धवलागिरी गापाको पुर्नबास सहितका पहिरो प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधि लगायतको मागका बारेमा प्रदेश सरकारले उचित सम्बोधन गर्ने बताउनुभएको थियो ।

‘बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले म्याग्दीलाई प्राथमिकता दिएको छ,‘संघीय सरकारलाई म्याग्दीको नाम नै लेखेर बजेटको माग गरेका छौ’ मन्त्री गुरूङले भन्नुभयो ।

पुनःनिर्माणको कार्य अघि बढाउन आवश्यक बजेट सहित जनशक्ती परिचालन समेत गरिने मन्त्री गुरुङको भनाई छ ।

विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन र राहत कार्यक्रमलाई पनि प्रभावकारी बनाउन प्रदेश सरकारले सघाउने बताउँदै म्याग्दी जिल्ला प्राकृतिक विपत्तीमा जोखिम जिल्लामा पर्ने समेत बताउनुभयो ।

सोही अवसरमा बेनी–दरबाङ सडकखण्डको स्तरोन्नतिका लागि ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गरिने बताउनुभयो ।

भ्रमणको क्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बावियाचौर बजार संरक्षण सहितका गतिविधिमा बजेटको माग गदैं ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा बावियाचौर बजार संरक्षण, हाँडेभिरको कटान नियन्त्रण सहित गाउँपालिका भित्रका सम्रग विषय समेटिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।

यसैबीच बेनी–पाखापानी सडक, पात्लेखेतको पहिरोस्थलको अवलोकन समेत गर्नुभएको थियो । भ्रमण टोलीमा प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देबेन्द्रबहादुर केसी, नेकपामा सचिव हरिकृष्ण सुबेदी, कार्यालय सदस्य बालकृष्ण सुबेदी लगायतको सहभागिता रहेको थियो । मन्त्री गुरुङले म्याग्दीको भ्रमण उपलब्धीमुलक भएकाले म्याग्दीलाई बजेटमा उचित स्थान दिने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply