म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

‘स्वास्थ्य चौकीमा नियमित सेवा प्रदान गरिन्छ,‘संक्रमति घरमै बस्न नसक्ने अवस्थामा मात्रै अस्पतालमा लैजाने ब्यवस्था मिलाएका छौ’ रोकाले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल निर्माण गर्न १० लाख रुपैंया निकासा गरेको थियो ।

त्यस्तै जनप्रतिनिधिको भत्ताबाट थप ५ बेड सहित अक्सिजन सिलिन्डर समेत थप गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए । अस्थायी कोरोनो अस्पतालमा एक मेडिकल अफिसरसहित २ स्टाफ नर्स र एक कार्यालय सहयोगी गरेर ४ जना जनशक्तीका लागि सूचना समेत जारी गरिएको छ ।

कोरोना रोकथामका लागि चाहिने औषधि र बेड खरिद गरिएको छ । मंगलाका कोरोना संक्रमति मध्ये १ जना बेनीको खुल्लामञ्चको आइसोलेसन कक्ष र बाँकी तीनजना होम आइसोलेसनमा रहेका छन् ।

गाउँपालिकाले मजदुर, विपन्न र घरमा बस्न नसक्नेलाई मात्रै अस्थायी कोरोना अस्पतालमा लैजाने र बाँकी सबैलाई होम आइसोलेनको मोडेललाई नै कार्यान्वयन गर्ने जनाएको छ ।

म्याग्दीमा बेनी नगरपालिका बाहेक अन्नपूर्ण गाउँपालिकाले वडा नं ५ नारच्याङमा नेपाली सेनाले प्रयोग गरेको भवन, रघुगंगा गाउँपालिकाले वडा नं ३ पिप्लेको स्वास्थ्यचौकी, मालिका गाउँपालिका दरबाङको छ्यारछ्यारे र धवलागिरी गाउँपालिकाले वडा नं ७ ताकममा बनाउने तयारीमा छ ।

१० लाख रुपैंया बजेट मध्ये ४ लाख ५० हजार रुपैंया तलब, ५० हजार रुपैंयाँ औषधि र ५ लाख रुपैंयाँको बेडसहितका समाग्री किन्न गरी निर्देशिकामा उल्लेख छ । अस्थायी अस्पतालका लागि तत्काल ३ महिना करारमा जनशक्ती ब्यवस्थापन गरिने छ ।

Leave a Reply