उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिखस्थित रहेको पर्यटकीय क्षेत्र खोप्रालेक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । पर्यटकीय आकर्षणको सम्भावना बोकेको खोप्रालेकमा म्याग्दी जिल्ला भ्रमण गर्न आउने पर्यटकहरुको आकर्षण बढ्दै गएको हो ।

मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन, हिमाली भेषभूषा र मगर समुदायको रहनसहन तथा ग्रामीण जीवनशैलीको प्रत्यक्ष रुपमा अवलोकन एवं अध्ययन गर्न पाइने हुँदा पर्यटकहरु खोप्रालेक जाने गर्दछन् ।

विगत केही वर्षयता देशका विभिन्न जिल्लाका साथै विदेशी मुलुकहरुबाट पनि पर्यटकहरु आउने गरेकोमा विश्वभर फैलिएको कोरोना भाइरुसका कारण अहिले म्याग्दी जिल्लाका पर्यटकहरु त्यस ठाउँमा पुगेका छन् ।

पहाडको परीको रुपमा आफ्नो परिचय बनाउँदै गएको शिखमा पर्ने हिमालको फेदी खोप्रालेकमा कोरोनाको कहरका बीचमा पनि पर्यटकहरुको चहलपहल हुन थालेको छ । असोज महिनाको सुरुवातसँगै खोप्रालेक पुग्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको स्थानीयवासिन्दाले बताएका छन् ।

तलतिर पर्ने वनजङ्गल, टाढा टाढाको मनमोहक पहाडी भूगोलसहित दजनौं हिमश्रृङखलाहरु देखिने खोप्रालेकले पर्यटकलाई लोभ्याइरहेको छ । आँख्खै अगाडि देखिन मनोरम हिमश्रृङ्खलासहितको दृश्यले पर्यटकलाई बोलाइरहेको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको भए पनि खोप्रालेक पुग्ने आन्तरिक पर्यटकको संख्या भने बढ्दै गएको जनाइएको छ । एकै ठाउँबाट दर्जनौं हिमालसहित तरेली परेका पहाडी भूगोलको मनोरम दृश्यहरु अवलोकन गर्न पाइने भएपछि खोप्रालेकमा पर्यटकको आगमन बढेको हो ।

समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित खोप्रालेक पुग्दा हिमश्रृङखलाको साथमा जङ्गली पशुपंक्षीहरु मृग, घोरल, डाँफेलगायत जनावर र पंक्षीहरुको अवलोकन गर्न समेत पाइन्छ । भूगोलका हिसाबले केही टाढा भए पनि खोप्रालेक निकै सुन्दर, आकर्षक अनि मनमोहक स्थानका रुपमा रहेको छ ।

पर्यटकीय क्षेत्र खोप्रालेकमा हिमालको फेदीमा पालिने चौरीगाई र भेडाको दृश्यले समेत पर्यटकहरुको मन जितेको छ । पैदलमार्ग हुँदै खोप्रालेकमा पुग्दा दुःखको महशुस भए पनि खोप्राबाट बिहानीमा देखिने मनोरम हिमश्रृङखलासहितको दृश्यले थकानलाई उतिखेरै बिर्साइदिन्छ ।

पछिल्लो समय खोप्रालेकमा पर्यटकको संख्यामा वृद्धि हुदै गएकाले भौतिक पूर्वाधार विस्तारको कामलाई समेत जोड दिइएको छ । काठमाडौंदेखि म्याग्दीको भ्रमणमा निस्किएका नागरिक दैनिकका सहसम्पादक अमृत भादगाउँलेले खोप्रालेक आफैमा निकै सुन्दर भएको प्रतिक्रिया दिँदै खोप्रालेक क्षेत्रमा भौतिक पूर्वाधार विस्तार गर्नसके आन्तरिक र बाह्य पर्यटक आगमनमा वृद्धि हुने अनुभव सुनाए ।

एउटा मात्र सामुदायिक लजमा बास बस्न नपुग्ने भएपछि पर्यटकलाई खयरभारानीथान क्षेत्र तथा संरक्षण कोषले पनि बस्ने र खाने व्यवस्था गर्ने गरेको छ । पहाडको टुप्पोमा अवस्थित खोप्रालेकबाट म्याग्दी, पर्वत, कास्कीका पहाडहरुमा अवस्थित ग्रामीण वस्तीहरु देखिन्छन् ।

पर्यटकीय क्षेत्र खोप्रालेक क्षेत्रको विकासका लागि स्थानीयस्तरबाट विशेष ध्यान दिइएको खयरभारानीथान क्षेत्र तथा संरक्षण कोषका अभियन्ता समेत रहेका स्थानीय अगुवा लेफ्टिनेन्ट राजु शेरपुजा पुनले जानकारी दिए ।

Leave a Reply