हिन्दुहरूको महान् पर्व वडा दसैंलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । कोरोनाको महामारीको कारण यो पर्व खानपानको पनि सही तरिकाले खानुपर्ने कलाकारको सुझाव छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले दसैंमा सबै जना सुरक्षित हुन आग्रह गदै खानपानमा विषेश ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, म कोरोनाको मुखबाट आएको ब्यक्ति हो त्यसैले कोरोनालाई आत्मविश्वास र खानपानको माध्यमबाटै पराजित गर्नुपर्छ ।

जे मनलाग्यो त्यही खाएर रोग प्रतिरोधात्मक क्षमता घटाउनु भन्दा स्वास्थ्यवर्धक कुरा खानुपर्ने आचार्यको भनाइ छ ।
नेपालभाषा चलचित्रका निर्देशक रामकृष्ण खड्गी आफू नेवार समुदायको भए पनि मासुबाट भने टाढा नै हुनुहुन्छ । उहाँ शाकाहारी भएको छ वर्ष भयो ।

उहाँले भन्नुभयो, ‘ पहिले पनि त्यत्ति खान मन लाग्दैन थियो, अहिले भने पूर्णरुपमा शाकाहारी भएको छु ।’ जसले गर्दा मलाई रोगसँग लड्न क्षमता विकास भएको अनुभव हुन्छ ।

अमानवीय ढङ्गबाट काटमार गरेको देखेपछि मासु खान मन लागेको बताउँदै उहाँले भन्नुभयो, ‘मलाई पशुबलि प्रथा नै मन पर्दैन । शाकाहारी खानाले शरीर मात्र नभएर मस्तिष्कमा पनि शान्त बनाउँछ ।’

मांसाहारी परिकार नभए चाडपर्व रमाइलो हुन्न भन्ने सोच गलत हो भन्ने मत छ उहाँको । ‘शाकाहारी परिकार खाएर पनि चाडपर्वमा रमाइलो गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘चाडपर्वको रमाइलोलाई माछा मासुसँगै तुलना गर्नु नराम्रो हो। दशैँमा आफू राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खाएर मनाउने उहाँ बताउनुहुन्छ ।

यता गायक रामकृष्ण दुवाल भन्नुहुन्छ, ‘नेवारी समुदायमा मासुलाई धेरै महत्वका साथ लिइन्छ । कुनै पनि पूजाका लागि मासु नै चाहिन्छ । देवीदेवताको नाममा बलि दिएर मासु हामीले खाने हो ।’

उहाँले हाम्रो शरीरको लागि मासु चाहिले हुनाले मासु खाएर नै दशैँ मनाउने जानकारी दिनुभयो ।दुवालले विगत केही वर्षदेखि काटमार गर्न छोडेको जानकारी दिँदै भन्नुभयो, ‘बजारबाटै मासु किनेर ल्याउने गरेको छु ।’

विभिन्न रोगको माहामारीको कारण पनि घरमा काटमार गर्न नहुने उहाँको अनुभव छ ।‘मासु बढी मात्रामा खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन तर पनि दशँै हो के गर्नु ?’ अभिनेत्री दिपाश्री निरौला भन्नुहुन्छ ।

नियमित रूपमा र बढी मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली तथा मुटु आदिमा समस्या देखिने भएकाले मासु खाए पनि मात्रा मिलाएर खाने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसी, राँंगो जस्ता रातो मासुहरू सकेसम्म कम प्रयोग गर्ने गरेको बताउनुभयो ।

हामी मांसाहारीहरूले दशैँ मनाउँदा मासुको मात्रा मिलाएर खानुका साथै उत्तिकै मात्रामा हरियो सागपात, सलाद, फलफूल, दही, मही जस्ता खाने कुरा पनि मिलाएर खाँदा भोजन सन्तुलित हुन्छ । यसले पाचन प्रक्रिया सहज बनाउने निरौलाले बताउनुभयो ।

निर्माता आकाश अधिकारी भन्नुहुन्छ, ‘चाडपर्व भन्ने वित्तिकै मासु नै खानुपर्छ भन्ने मलाई लाग्दैन । अहिले कोरोनाको महामारीमा स्वस्थकर परिकार बनाएर खान जरुरी छ ।

दाल, गेडागुडी, पनिर, दुध, कुरिलो, भटमास जस्ता खानेकुराबाट पनि मासुको जस्तै प्रोटिन प्राप्त गर्न सकिन्छ । यस्ता खानेकुराको परिकारको साथमा दशैँ मनाउन उहाँको सुझाव छ ।उहाँलाई आफू मांसाहारी भए पनि दशैँमा मासु नै खानुपर्छ भन्ने लाग्दैन । उहाँ भन्नुहुन्छ, ‘पहिलेको जस्तो जमाना होइन । जहिले जुन बेला पनि मासुको विभिन्न परिकार खान पाइन्छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।