हिन्दु धर्मावलम्बीहरुका धेरै पर्वहरु छन् तीमध्ये दसैं र तिहार मुख्य पर्व हो। कोविड १९ कोरोना भाइरसको महामारी विश्वबाट गएको छैन । यस बीचमा हिन्दूहरुको चाड दसैं आएको छ । विगतका वर्षहरुमा जस्तो मान्छेहरुको मनमा हर्ष उमङ्ग र उत्साह भने खासै देखिदैन । तैपनि परम्परादेखि मनाउदै आएको पर्व भएकोले आंशिक रूपमा सक्रिय देखिन थालेका छन् ।

हामी सानासाना हुँदाको कुरा हो । गाउँघरमा नयाँ लुगा लगाउन र मिठो खानेकुरा खानको लागि दसैं तिहार जस्ता पर्वलाई नै कुर्नु पर्दथ्यो । यसकारण सबैका बाबाआमाले आफ्ना घरमा आफ्ना बालबच्चाका लागि सकि नसकी नयाँ लुगाफाटो र मिठा खानेकुराको प्रबन्ध मिलाउनु पर्दथ्यो ।

आर्थिक हैसियत हुनेहरूका लागि दसैं रमाइलो हुने गर्दथ्यो भने निर्धनहरुका लागि दसैं दशा बनेर आउने गर्दथ्यो। यसर्थ एउटा कहावत् छ “हुनेलाई दसैं नहुनेलाई दशा“ विशेषगरी हिन्दु परम्परा अनुसार वर्षको दुई पटक आउने नवरात्री पर्वलाई विशेष मानेको देखिन्छ ।

जस्तो शरद ऋतुको स्वर्णिम समयमा दुर्गादेवीको पूजा तथा उपासना गरिन्छ भने वसन्त ऋतुको महोत्सव समयमा पनि दुर्गा देवीको पूजा तथा उपासना गरिन्छ । जसलाई चैत्र दसैं भनिन्छ । र तिहारमा लक्ष्मीको पूजा तथा उपासना गरिन्छ भने दसैंमा दुर्गाको पूजा तथा उपासना गरिन्छ । देवी दुर्गालाई खासगरी महिषमर्दनी भनेर पनि चिनिन्छ ।

किनभने देवीले महिषासुर भन्ने दानवलाई महिष अथवा भैंसीको रूपमा रहँदा मारेको हुनाले त्यस नामबाट चिनिएको हो।

महिषासुर दानवले ब्रम्हाजीको ठुलो तपस्या र आराधना गरेको हुनाले ब्रम्हाजी खुशी भइ उसलाई के वर माग्छस् भनेर सोध्दा ( उसले मलाई कुनै पनि देवताले मार्न नसकोस् भनेर वर माग्छ। त्यसपछि ब्रम्हाजीले तथास्तु ! भनेर उसलाई वर दिन्छन् । त्यो वर पाएपछि उसले सारा देवलोकमाथि हमला गरेर देवताहरुलाई इन्द्रलोकबाट भागाभाग गराइदिन्छ ।

र ऊनीहरु डरले जंगल डाँडा काँडामा लुक्न बाध्य हुन्छन् । त्यसपछि देवताहरु एकजूट भएर सर्वशक्तिमान देवीलाई गुहारे पछि शिव विष्णु आदि सबै देवताहरुबाट निस्किएको तेज एक भइ भगवती देवीको रुप प्रकट भयो।

यही देवीलाई देवीलाई नै दुर्गा भनेर सम्बोधन गरिन्छ । दुर्गा देवीलाई सबै देवताहरुले आ–आफ्नो अस्त्रहरु दिएर भने– दुर्गा माताजी हामीलाई महिष्हसुर दानवबाट बचाउनु होस् ।

त्यसपछि ऊनी महिषासुरको सामना गर्न जान्छिन्। महिषासुर पनि यति सुन्दर थियो कि बयान गरेर साध्य नै थिएन । महिषासुर देवी दुर्गाको रुप देखेर मुग्ध हुन्छ र उसले दुर्गालाई भन्यो म तिमीलाई विवाह गर्न चाहन्छु के तिमी मञ्जुर छौ ? देवी– उसो भए पहिले मसँग लडेर मलाई हराऊ भन्नुभयो ।

त्यसपछि दुवैजनाको भीषण युद्ध भयो । लडाईं गर्दागर्दै महिषासुरले देवीबाट बच्न नसक्ने भएपछि उसले अनेकौं रुप धारण ग¥यो । तर अन्तमा आएर उसले महिषको रुप धारण ग¥यो त्यति नै बेला देवीले उसमाथि विजय हासिल गर्नु भयो । शायद महिषासुरले बिर्सियो होला कि ब्रम्हाजीले उसलाई कुनै देवताले मार्न सक्दैनन् भनेको ।

तर देवीले मार्न नसक्ने भनेर वरदान दिनु भएको थिएन । यसरी दुर्गा भगवतीले महिषासुरलाई जस्तै शुम्भ र निशुम्भ नामका दुई दाजुभाइ दैत्यहरुलाई पनि मारी दुष्टहरुको विनाश गर्नु भएको थियोे । त्यसैले वर्षेनीपिच्छे हिन्दू धर्मावलम्बीहरुले महिषासुर आदि दुष्टहरुको अन्याय अत्याचार माथिको विजयलाई नै विजयादशमी तथा दुर्गापूजा भनेर मनाउने गर्दछन् ।

कहिँकहिँ यसलाई कालीपूजा भनेर पनि मनाउने गरेको पाइन्छ । यी पौराणिक कथाहरुमा भनिएका कुरा र पात्रहरु केवल काल्पनिक एवं मिथक छन् तर प्रतीकात्मक छन्, सुन्दर छन् । कथाले स्वर्ग र नर्क छन्, भन्नसक्छ तर कथाको यस भनाइले आफ्नो दिनचर्या सुधारिदिनसक्छ ।

सत्कर्म गर्नुमा प्रोत्साहित गर्नसक्छ र कुकर्म गर्नुमा निरुत्साहित गर्नसक्छ । यसर्थ यी कथाहरु मिथक भएर पनि प्रेरणादायी छन् । यसले मनुष्यलाई प्रेरणा दिइरहेको हुन्छ । यद्यपि त्यसको प्राप्तिका निम्ति मनुष्य सदासर्वदा अभिप्रेरित रहन्छ । यहीँ प्रेरणाले कला जन्माउँछ ।

परिकल्पना गर्न सिकाउँछ, सौन्दर्यको उपासना सिकाउँछ । र विषयमा चिन्तन र मन्थन गर्न सिकाउँछ । यसकारण मिथकमा यति ठुलो शक्ति छ । यस कथाको प्रतीकात्मक पक्षहरुलाई दार्शनिकहरुले यसो भन्छन्– देवी दुर्गा शब्द दैवीय शक्ति अर्थात ९ीषभ खष्तब िायचअभ० हो ।

र देवी दुर्गा सिंहमाथि विराजमान छिन् । देवी दयालु छिन् तर सिंह हिंस्रक छ । यस्तो विरोधाभासी बिम्ब आमाको प्रतीक हो । आमा दयालु र सुन्दर हुन्छिन् । तर आफ्नो सन्तानको रक्षाका लागि ऊनी जस्तोसुकै परिस्थितिको सामना गर्न हिच्किचाउन्नन् भन्ने अर्थ देवी दुर्गाको प्रतीकले दिन्छ ।

र यसको अध्यात्मिक पक्षका विद्वानहरु महिषासुर दैत्यलाई मानिसको हृदयभित्रको अहंकार हो भन्ने कुरा मान्दछन्। र मानिसलाई दानव जस्ता खतरनाक मान्छे बनाउने पनि त्यही अहंकार नै हो त्यसकारण योगक्रियाद्वारा आफुभित्रको देवी शक्ति जगाइ त्यसै योग शक्तिको सहाराबाट अहंकारको विनाश गर्न सकिन्छ ।

यसैलाई साधनामार्ग पनि भनिन्छ । यसर्थ परापूर्वकालदेखी हाम्रा ऋषिमुनिहरुले आफुभित्र भएको देवी शक्तिलाई प्रसन्न पार्न उहाँको पुजनस्वरुप नवदुर्गा ध्यान साधना गरि दसौं दिनमा उत्सव मनाउने गर्दथे भने अहिलेका मनुष्यले प्राणी हिंसा गरि पुजन गर्ने अनि मासु र मदिराको नशामा उत्सव मनाउने उल्टो परम्परा चलेको छ । यस्तो उल्टो संस्कार, संस्कृति एवं मनभित्रको अहंकार र कुवृत्तिमाथि हाम्रो विजय हुन सकोस् मेरो यस वर्षको यही शुभकामना छ ।