केहीदिन अगाडीसम्म काठमाण्डौका पशुपती आर्यघाटमा वेबारिसे शबलाई आफन्त बनेर दागबत्ती र सडकमा भेटिने भोकालाई भोजन गराउँदै आएकीसपना रोका मगरले आफ्ना नियमित कामलाई छोडेर घर फकिईन् ।

विहानदेखि मध्यरातसम्म काठमाण्डौमा सामाजिक कार्यमा ब्यस्त हुने गरेकी सपना आमाबुबासँग्र दशैं मनाउन म्याग्दीको मंगला गाउँपालिका-४ बरंजाको बुकेनी घरमा आईन् । घरमा पुगेपछि आमालाई घरायसी काममा ब्यस्त हुने सोच बनाएकी सपनाले चाडपर्वमा खाद्यान्नको अभावका कारण समस्यामा परेकालाई खोजीखोजी सहयोग गरिन् ।

विपन्नको चुल्होमा भात नै नपाक्ने अवस्था देखेपछि आफ्नो जन्मदिनमा यूकेबाट दशैंखर्च पठाएको रकमले २५ जनालाई खाद्यान्न सहयोग गरेर समुदायमा आफ्ना सामाजिक कार्यलाई निरन्तरता दिईन् । ‘गाउँमा बस्ने समयसम्म घरकै काममा ब्यस्त हुने सोच थियो,‘विपन्नको अवस्था देखेर सहयोग नगरी बस्न सकिन’ सपनाले बेनीअनलाइनलाई भनिन् ।

‘काठमाण्डौमा सडकमा खाना खोज्दै हिड्नुपर्ने बाध्यता छ,‘गाउँघरमा घरभित्र भान्सा भएपनि पकाउने खानाको अभाव हुन्छ’ सपनाले भनिन् । उनले तत्काल आफ्नो क्षमता अनुसार सहयोग गरेको बताउँदै भविस्यमा म्याग्दीका सामाजिक कार्यमा पनि निरन्तर सहयोग र सक्रियता देखाउने बताईन् ।

आर्थिक अभाव कारण उपचार, खाने, बस्ने लगायत बालबालिकाको शिक्षादिक्षामा देखिएको समस्या समाधानका लागि समेत उनले आफ्ना नियमित सहयोगीलाई सहयोग माग्ने योजना बनाएकी छन् । आफ्नै जन्मगाउँमा सहयोग गर्दा निकै उत्साहित भएको बताउँदै सपनाले विपन्न परिवारमा पीडा भएपनि इमान्दारिताको भण्डार हुने भएकाले दुई छाक हातमुख जोड्न नसक्ने विपन्नलाई सहयोग गर्ने बताए ।

गाउँमा करिब दुईसाताको बसाईमा देखेका समस्यालाई काठमाण्डौ फर्किएपछि पनि समाधानका लागि प्रयास गर्ने बताईन् । लकडाउन यता काठमाण्डौंमा हजारौंलाई निशुल्क भोजन गराएकी सपनाले सामाजिक कार्यभित्र इमान्दारिता भएमा मात्रै टिक्न सकिने बताईन् । उनको कामबाट अभिभावक समेत निकै सन्तुष्ट छन् ।

आफ्नो छोरीको समाचार र यूटुवमा देखेपछि काठमाण्डौमै पुगेर समेत छोरीको सामाजिक कार्य नजिकबाट हेरेर फर्किएका अभिभावकको अनुहारको चमकले समेत सपनालाई थप उत्साहित बनाएको छ ।

बेवारिसे शबकी वारिस
काठमाण्डौका अस्पतालबाट दैनिकजसो बेवारिसे शब बुझ्ने गरेकी सपनाले कानुनी प्रक्रिया पुरा गरेपछि उनले नै पशुपतिमा दागवत्ती दिने गरेकी छन् । पशुपति आसपासमा माग्न बस्नेहरूले उनलाई आफ्नै सदस्य सम्झन्छन् । बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शब गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन्।

विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर दुर्गन्ध फैलिएको शबलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा दागबत्ती दिने गरेकी छन् । ‘अपरिचित लासमा दागबति दिदाँ मृत आत्माले शान्ति पाउँछ,‘मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ’ उनले भनिन् ।

बेवारिसलाई जमिनमा गाड्न खोज्दा समेत धार्मिक परम्परा अनुसार नै दागवत्ती दिनुपर्छ भनेर समेत अडान लिएको उनको भनाई छ ।सामाजिक अभियान्ता विनयजंग बस्नेत उनलाई बाटो देखाउने अभिभावक हुन् । छोरी बनाएर सामाजिक अभियानमा बस्तेले सपनालाई स्थान दिएपछि सपनाको दैनिकी परिवर्तन भएको थियो ।

पशुपतिमा सधै मृतकका परिवार, आफन्तको रूवाबासी हुने, मलामीको भिडभाड नजिकै सपनाले दागबत्ती दिने चिता आसपासमा न कसैको रुवाबासी, न कुनै भीड हुन्छ। उनले हालसम्म ७० वटा बेवारिसे शवमा दागबत्ती दिएकी छन् ।

दुईसाता अगाडी मात्रै एकै पटक ६ वटा शवको अन्त्येष्टि गरेको बताईन् । उनीहरुले दाहसंस्कार गर्ने प्रायः शव एक वर्ष पुराना हुन्छन् । उनले देशभर यस्तै अभियान सञ्चालन गर्ने अभियानमा छिन् । विभिन्न जिल्लामा समेत काठमाण्डौकै मोडेलमा काम भइरहेको छ ।

Leave a Reply