म्याग्दी जिल्ला त्यो समयमा पहाडी (हाल हिमाली) विकट जिल्ला हो । मेरो घरबाट सदरमुकाम पुग्न २ घण्टा पैदल हिँड्नु पर्थ्यो । भगवतीको गाउँ कटेर पर पुगे पछि खेतको फाटको छेउमा खरले छाएको र भित्तो चर्केको घर । पीढीको एक छेउमा गाई बाधेको ।
ढोका तिर फर्केर गाईले गोब्रायो भने ढोकाकै सामुन्ने पर्दछ । गाई बाधेकै छेउमा मकैको भुत्लाले बुनेको चकटीमाथि मेरा बा चराचरा परेर फुटेको खुट्टा लिएर आधा टाउको ढाकेको फाटेको मैलो ढाका टोपीले छोपेर आञोई (हजुरआमा) सँग दसैँमा मासु खाने कि नखाने भनेर गफ्फिदै हुनुहुन्थ्यो ।
माइली बहिनीलाई काखमा च्यापेर पीढीको पल्लो कुनामा मेरी आमाले ४ दिने महिनावारीको कर्म पुरा गर्दै हुनुहुन्थ्यो ।
फाटेको ठाडो भोटो, तुना पनि नभएको एकसरो लुओले मैले मेरो लाज ढाकेर बाउको फाटेको वास्कटको गोजीमा आफ्नो हात लुकाउँदै जाडोलाई जित्न खोजी रहेको थिए ।
बा’ले चिलिममा काचोपात सल्काएर जाडो भगाउने कोसिस गर्नु भयो । भित्रबाट आञोईले १र२ दिन काम गर्दिने गरेर खसीको मासु ल्याए केटारिले मुखको स्वाद फेर्दा हुन् मैले दो’टा चोक्टा चाप्दिउम तिम्राले झोल खादा हौ भन्नु भो । बा ले २ दिन घर छाउने काम पाए १० रुपैयाँ बढी आउँथ्यो मासु खाको कटाउन गए कम पैसा दिन्छन् भनेर खिन्नता प्रकट गरिरहनु भएको थियो ।
पानी चुहेर घरको भित्ताभरि तिहारमा धार हाले जस्तो बनाएको थियो । त्यसलाई घसिपोत गर्न पनि आमालाई एक दिन पुरा लाग्ने जस्तो छ । आमा र बा नै मेरा घरका मुख्य पैसाका रुख हुन् । मासु खाने कुरा आलटाल भए पछि उनीहरूको गोजीमा हुन्छ तर निकाल्दैनन् भन्ने मैले बुझ्थे । दिदी म भन्दा धेरै ज्ञानी हुनुहुन्थ्यो । भाइ बोल्दैन्थियो जति सोध्यो त्यति मात्र, माइली बहिनी सानै थिइन् ।
दुख र अभावको सुरुवात यो संसारमा मेरो बाबाबाट भएको जस्तो मलाइ लाग्थ्यो । पकाउने खाने, सुत्ने देखि हरेक कुरामा अभावै अभाव थियो आफूलाई जन्म दिएकी आमालाई राम्रो घरमा राख्ने मेरा बाको कति चाहना हुँदो हो नि तर जति दुख गर्दा पनि आफ्नो सपना बाले पुरा गर्न सक्नु भएको थिएन ।
हामी ३ भाइ नै स्कुल जाने भएका थियौ । हामी स्कुल जाँदा मेरो बाबाको गरिबी पनि सँगै जान्थ्यो र अरूको सामु पोखिन्थ्यो ! मेरा बा’ले आफ्नो गरिबी लुकाउन वास्कट मात्र आफूले लगाएर जडौरीमा पाएका कपडा च्यातेर हामीलाई नयाँ बनाएर लगाई दिनु हुन्थ्यो । एक सालमा एक पटक कपडा किन्नु मिठो मसिना खानु नै दसैँ हो हाम्रो लागि त्यसैले त्यही दसैँ नै दसैँ जस्तो लाग्थ्यो ।
गरिबीमा बितेको बालापनले मानिसलाई मेहनत गर्न र शिर झुकाउन सधैँ सिकाउँछ । अति विपन्न परिवार हो हाम्रो । बा’ले त्यति बेला पूजापाठको कर्म गर्न सुरु गर्नु भएको नै थिएन गरेको भए पनि अहिले जस्तो समयरअवस्था थिएन ।
हाम्रो घरमा तानमा बुनेको एउटा झोला थियो । हामीले ठुलो झोला भन्थ्यौ । दसैँ आउने बेलामा मासु बरु एक छाक खाने होला, केटारिलाई एकसरो लुवा हाल्दिन पर्योल भन्दै बाबा ठुलो झोला भिरेर बेनी झर्नु हुन्थ्यो । बा बेनी तिर लागे पछि हो दसैँ आउने हामीलाई ।
दसैँ भनेको त मेरा बाले बोक्ने ठुल्झोलामा आउँथ्यो र पो दसैँ जस्तै लाग्थ्यो, बाले कपडा ल्याइदिनु हुन्छ भन्ने कुरा नै आफैमा संसार जिते जस्तो थियो, के ल्याइदिनु हुन्छ भन्ने सँग सरोकार रहँदैन थियो । चिटचिट गर्ने पोलिस्टरको जाङे सिलाउने कपडा बोकेर बेनीमा खातामा ऋण थपेर बाबा दसैँ बोकेर घर फर्कनु हुन्थ्यो ।
म त्यही काँचो कपडा सरिरमा बेरेरै नै सुत्थे । छेउमा राखेर सुत्थे । दर्जी दाइ आएर सिलाउँदा आफ्नो लुओ नसिलाइन्जेल उनको छेउबाट पर जान मन लाउदैन्थ्यो ।दर्जी दाइले सिलाको कपडामा मकैको खोइला हालेर बालेको आइरन लाइदिन्थे । हामी आइरन बिग्रिन्छ भनेर दसैँको टिका सम्म कपडा नछोई राख्थ्यौ ।
यता स्कुलमा साथीहरूले मलाइ त २र३ जोर कपडा ल्याइदिनु भयो भन्दा मन अमिलो हुन्थ्यो र हाम्रा बा कति छुचा अरूका बाले बजारमै सिलाका कपडा ल्याउँदा मलाइ एउटा ल्याइदिएका भन्दै रिसाउँथे बा सँग तर बा’को सामुन्ने भन्ने दम पुग्दैन थियो ।
अघिल्लो वर्ष दसैँमा सिलाको जांगेलाइ पछिबाट टाल्दा टाल्दा दर्जी दाइले जांगेलाइ ५र६ रङ्गको बनाइ सकेका हुन्थे तर आफूलाई टालेको भए पनि क्या गजब लाग्थ्यो । पछाडि स्कुल जाने झोलाको लामो फिता बनाएर ढाकेर गजबले सान दिँदै हिडीन्थ्यो ।
आमालाई घर लिप्न कमेरो र रातो माटोको जोहो गर्नु पर्ने । स्कुलमा पुरै कमेरोले छेप्ने चलन थियो । दसैँको मुखमै सरहरूले कमेरो माटो खन्न १र२ घण्टा हिँडाएर लानु हुन्थ्यो ।
माटोको डल्ला पारेर टाउकोमा चढाई दिनुहुन्थ्यो । पानीले पोतेर चिप्लो पारेको कमेरो टाउकोमा राखेर सेतो हुँदै बाटोमा पानीले डल्लो फुट्छ भनेर लिप्दै लिएर स्कुल आइन्थ्यो । यता स्कुल बिदा हुने उता दर्जी दाइले जाङे सिलाइदिने वाह क्या गजबको संयोग हुन्थ्यो ।
स्कुललाई दसैँ नआए सम्म न मलाइ दसैँ आउँथ्यो न घरलाई न बाको ठुलो झोलालाई । ऋणले धेरै किचिदा पनि बाले कहिल्यै आफूले ९ वर्षको उमेरमा बा गुमाएको पिडा अनुहारमा ल्याउनु भएन । बालापनमै टुहुरा बनेका मेरा बाको काँधमा चुहिने छानो टाल्ने मात्र होइन सिङ्गो संसार बनाउने जिम्मेवारी थियो ।
जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने जीवनको कौसलता थियो जुन आज म मा नै छैन । उल्टै भाग्यमानी छु मेरा छोरा छोरी छन् भनेर गर्व गरी रहनु हुन्थ्यो किनकी मेरो बालाई कसैले साथ् दिएका हैनन्र थिएनन् ।यिना’र ठुला भए”सी अधियाँ गर्ने जग्गा बढाउँछु र बिहान बेलुका दुई छाक खस्रो मसिनो खुवाउछु भन्ने बाको चाहना हामी ठुला हुँदै जाँदा ठुला हुँदै गएका थिए ।
हाम्रो परिवारले बाको ठुल्झोलामा दशकौँ दसैँ त्यही हो भनेर मनाएका छौ। बाले ऋणमा बोकेर ल्याएको दसैँ, चुहिने छानो, अभावको जीवन हामी सँग लुकाए पनि, बालापनको भए पनि मेरो लागि प्रेरणा हो । माटोमा जन्मेर आमाको गुन्युमा हुर्किएका मेरा बा र म अहिले गुन्द्रीमा सुत्ने हैसियतका भएका छौ तर मेरो बा आज पनि गुन्द्रीको ओछ्यानमा मिठो निन्द्रा लिनु हुन्छ ।
समय फेरियो अहिले दसैँ कहिले फोनमा कहिले गाडीमा कहिले डेलिभरी मार्फत घरै जान्छ कपडा सिलाउने दर्जी दाइ घर जादैनन हामी सटरमा बसेका दर्जी दाइकोमा जान्छौ । एउटा पक्की पिँढीमा बसेर दसैँ मनाउने हैसियत बनाएका मेरा बा,का २ सन्तान भने हरियो पासपोर्टमा मजदुरी गर्न परदेशमा छन्।
विजयादशमीको सुभकामना !
दोहा कतार