यसअघि पनि मानिसलाई खतरनाक भाइरसले संक्रमण नगरेका होइनन्। मानव समुदायले विभिन्न महामारी नभोगेका होइनन्। तर अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारी ती सबैभन्दा निकै फरक र नियन्त्रण गर्नै कठिन देखिएको विज्ञ बताउँछन्।

आखिर कोरोना भाइरस किन यति घातक देखिएको हो त? अनुन्धानकर्ताले निम्न ५ कारण औंल्याएका छन्।

१. झुक्याउने भाइरस  

यो भाइरसले यसरी झुक्याउँछ कि हाम्रो फोक्सो र श्वासप्रश्वास प्रणालीमा ठूलो मात्रामा जम्मा भइसक्दा पनि हाम्रो प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले चाल पाउँदैन।

युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक पल लेहनर भन्छन्, ‘यो भाइरस भाइरस अनौठो छ। तपाईंको नाकलाई आफ्नो घर बनाइसक्छ, तर त्यति बेलासम्म तपाईंलाई आफू स्वस्थ नै महसुस हुन्छ।’

उनका अनुसार हाम्रो शरीरका कोषिकाले इन्टरफर्नाे नामक केमिकल्स उत्पादन गर्छन्। जब त्यसमा कुनै भाइरस प्रवेश गर्छ तब हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले चेतावनी दिन्छ, तर कोरोनामा एउटा यस्तो गजबको क्षमता छ कि त्यस्तो चेतावनी रोकिदिन्छ।

प्राध्यापक लेहनर अगाडि भन्छन्, ‘यो भाइरसले यति चलाखीपूर्वक आफ्नो काम गर्छ कि तपाईंलाई बिरामी भएको अनुभवै हुँदैन। अर्थात् परीक्षण नगर्दासम्म शरीरका कोषिकामा भाइरस प्रवेश गरेको लामो समय भइसक्दा पनि थाहा हुँदैन।

२. दुर्घटना गराएर भाग्ने चतुर चालकजस्ताे भाइरस 

शरीरमा भाइरल लोड (भाइरसको मात्रा) निकै भएपछि मात्र मानिस बिरामी पर्छ र लक्षण देखिन थाल्छन्। अस्पतालै भर्ना हुनुपर्ने गरी भाइरल लोड हुन करिब एक हप्ता लाग्छ।

प्राध्यापक लेहनर भन्छन्, ‘आफ्नो संख्या बढाउने यसको तरिका निकै सशक्त छ। यसले मानिसलाई एकैचोटि अस्पताल जानुपर्ने गरी बिरामी बनाउँदैन। संक्रमण गरिसकेर पनि सञ्चैजस्तो हुन्छ, मान्छे। जसले गर्दा ऊ बाहिरफेर घुम्छ र अन्य थुप्रैलाई भाइरस सार्छ।’

यस अर्थमा कोरोना भाइरस एउटा यस्तो चतुर सवारीचालक जस्तो हो, जो दुर्घटना गराउनासाथ फरार हुन्छ। कुनै संक्रमित निको हुनु तथा मर्नुअघि ऊ अर्काे व्यक्तिमा सरिसक्छ।

सन् २००२ मा देखापरेको मूल सार्स(कोरोना भाइरस र अहिले फैलिएको कोरोना भाइरसमा धेरै फरक देखिन्छ। त्यो मूल सार्स(कोरोना भाइरसले मानिसलाई सुरुमै बिरामी पार्थे र तुरुन्तै लक्षण देखापर्थे, जसका कारण बिरामीलाई तुरुन्तै अलग गरेर अन्यलाई भाइरस सर्नबाट जोगाउ सकिन्थ्यो।

३. शरीरले नचिन्ने भाइरस  

यसअघिको महामारी सम्झौं। सन् २००९ मा मानिस एच१एन१ अर्थात् स्वाइन फ्लुबाट निकै त्रसित थिए। तर त्यसबाट धेरै मानिसको मृत्यु भएन, जति चिन्ता गरिएको थियो। कारण हो– यो भाइरससँग लड्ने प्रतिरोधी क्षमता वृद्ध मानिसमा समेत थियो। किनकि यो भाइरस यसअघि (सन् २००२) मा पनि देखिएको थियो।

युनिभर्सिटी अफ म्यानचेस्टरका प्राध्यापक ट्रेसी हसल भन्छन्, ‘तर कोरोना नयाँ किसिमको भाइरस हो, जसविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली नै मानिससँग छैन। यसर्थ यसको नयाँ प्रभाव शरीरको प्रतिरक्षा प्रणालीका लागि एउटा झट्का बन्छ।’

वृद्ध उमेरका मानिसमा भाइरसविरुद्ध नयाँ प्रतिरोधी क्षमता निर्माण हुन निकै मुस्किल हुन्छ। किनकि धेरै उमेरका मानिसमा प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अंश मानिने टी(सेल्स एकदमै कम बन्छ।

नयाँ भाइरसविरुद्ध नयाँ प्रतिरक्षा प्रणाली विकास हुन धेरै किसिमको परिवर्तनबाट गुज्रिनुपर्ने हुन्छ। उदाहरणका लागि जीवनमा कुनै नयाँ समस्या आयो भने त्यसको समाधान गर्न धेरै उपाय अपनाउनुपर्छ। त्यस क्रममा कुनै सफल हुन्छ भने कुनै हुँदैन। नयाँ भाइरस पनि प्रतिरक्षा प्रणालीका लागि त्यस्तै हो।

४. शरीरभरि फैलिने भाइरस  

कोरोनाले फोक्सोमा त आक्रमण गर्छ गर्छ, साथै यो पूरै शरीमा पनि फैलिन्छ। किङ्स कलेज अफ लन्डनका प्राध्यापक मारो गाका भन्छन्, ‘कोरोनाका धेरै पक्ष अचम्म खालका छन्, अरू भाइरसभन्दा यो एकदमै फरक छ।’

उनी अगाडि भन्छन्, ‘अन्य फ्लु निको भएपछि तपाईंको फोक्सो पहिलेजस्तै स्वस्थ हुन सक्छ। तर कोरोना निको भए पनि त्यस्तो हुँदैन। यो अजिबको संक्रमण हो।’

यसको संक्रमणले मानिसको शरीरमा रगत जम्ने समस्या गराउँछ। जसका कारण कतिपटक चिकित्सकलाई कोरोना संक्रमितको नसा पत्ता लगाउनसमेत गाह्रो भएको छ।

किङ्स कलेज अफ लन्डनका प्राध्यापक बेवरली हन्ट भन्छन्, ‘कोरोना संक्रमण भएका केही बिरामीमा त रगत जम्ने रसायन सामान्य अवस्थामा भन्दा २००, ३००, ४०० गुणासम्म बढी पाइएको छ।’

उनले इनसाइड हेल्थसँग भनेका थिए, ‘मैले आफ्नो करिअरमा अहिलेसम्म यति बाक्लो रगत भएको बिरामी देखेको थिइनँ।’

कोरोना भाइरस पूरै शरीरमा फैलिन सक्नाको कारण हो( मानव शरीरमा भएको एसीई(२ रिस्पेटर। यो एक किसिमको प्रोटिन हो र जुन रक्त कोषिका, फोक्सो, कलेजो र मिरर्गाैलालगायत मानिसको सबै अंगमा हुन्छ। यही प्रोटिनमार्फत कोरोना भाइरस कोषिकामा प्रवेश गर्छ र शरीरका हरेक अंगमा आफ्नो कब्जा जमाउँछ।

५. बोसोमा झन् खतरनाक

तपाईंको तौल धेरै छ भने त कोरोना भाइरसले क्षति पुर्‍याउने सम्भावना अझ बढी हुन्छ।

किनकि युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक स्टिफन ओ रहेली भन्छन्, ‘बोसोसँग यो भाइरससको सम्बन्ध गहिरो देखिन्छ। जुन अन्य भाइरसमा देखिन्न। मानिसको शरीरमा रहेको बोसोले मेटाबोलिक गडबडी गराउँछ, जसका कारण कोरोनाले मोटा मानिसलाई अझ बढी असर गर्छ।’ बिबिसीबाट भावानुवाद

Leave a Reply