घाँस काट्न गएको समयमा रुखबाट लडेर शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड) नै भाँचिएपछि अचेत अवस्थामा भेटिएका म्याग्दीको मालिका गाउँपालिका–२ रूम बिलवाङमा २७ बर्षिय झलकमान पुनको बागलुङ अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको फेवा सिटी हस्पिटलमा लगियो ।

गएको भदौ ११ गते घाँस काट्ने क्रममा अग्लो रुखबाट लडेर गम्भीर घाईते भएका पुनको घटनाको भोलीपल्ट हस्पिटलमा पुर्याउँदा कम्मरमुनिको भाग नचल्ने अवस्था रहेको थियो ।

तत्काल शल्यक्रिया नगरिए उपचार असम्भव देखेपछि हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिवश क्षेत्रीको नेतृत्वमा सफल शल्यक्रिया गरिएपछि अहिले पुनको खुट्टामा विस्तारै चल्न थालेको छ ।

घटनाको ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगिए उनको ज्यान बच्ने बताएपछि अचेत अवस्थामै जोखिम मोलेर परिवार, आफन्त र छिमेकीले पोखरासम्म पुर्याएपछि नयाँ जिवन पाएको पुनले बताए ।

‘नयाँ जीवन पाएको छु,‘कोरोनाको जोखिममा समेत चिकित्सकले झन्झटिलो प्रक्रियालाई हटाएर तुरुन्तै शल्यक्रियालाई अगाडी बढाउनुभयो’ पुनले भने । उनले घाईते भएपछि दिसापिसाब समेत गएको पत्तो नपाउने अवस्थामा पुगेको बताउँदै उपचारपछि धेरै सजिलो महसुस भएको बताए ।

‘मेरो जस्तो समस्या भएका धेरै अप्रेशनपछि पनि विस्तारामै परेको सुन्दा चिन्ता लागेको थियो,‘अहिले स्वास्थ्यमा सुधार आएपछि काम गर्न सक्छु भन्ने आँट पलाएको छ’ पुनले बेनीअनलाइनलाई भने ।

दशैंको नजिकै बेनीको मंगलाघाटबाट घर फर्किएका पुनले आफ्नै जिल्लाको डाक्टरले उपचारमा धेरै चासो दिएको महसुस भएको बताए । उनले सबै बिरामीलाई एउटै महत्व दिएपनि म्याग्दी नै घर भएका डाक्टरले उपचार गर्दा छिट्टै निको हुने आत्मविश्वास बढेको बताए ।

पुनको रुखबाट लडेर मुल नसा नै चुडिएको थियो । ‘दुर्घटनामा परेपछि श्रीमानको अवस्था देखेर चिन्तित थिए,‘उपचार सम्भव भएर दशैंको मुखमै घर फर्किदा खुसी छु’ धनमायाँले भनिन् । उनले उपचारमा संलग्न डाक्टरले समेत बेलबेलामा जानकारी लिने गरेको बताउँदै समस्या परेमा घरबाटै फोन गरेर जानकारी दिने गरेको बताईन् । झलकमान र धनमायाँको एक सन्तान छन् ।

यता उपचारमा संलग्न डा. कटुवालले समयमै हस्पिटलमा पुगेकाले उपचार सम्भव भएको बताए । ‘अवस्था निकै जटिल थियो,‘अस्पतलाबाट फर्किदा बिरामीसँगै परिवारका सदस्य पनि निकै खुसी हुनुभयो, मैले उपचारमा सम्भव भएका सबै विधिको प्रयोग गरेको छु’ कटुवालले भने ।

गण्डकी प्रदेशमा अनुभवी मेरुदण्ड विशेषज्ञको रुपमा समेत चिनिएका डा. कटुवालले गम्भीर अवस्थाका बिरामीलाई समयमै अस्पतालमा पुर्याउन सकेमा उपचारमा चिकित्सकले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने बताए । उनले रूमका बिरामीको अस्पतालको बसाईमै धेरै सुधारको संकेत देखिएपछि बेनीमा केहीसमय निगरानीमा राखेर थप सुधार आएपछि घर पठाइएको बताए ।

फेवा सिटी हस्पिटलमा कार्यरत डा. कटुवालले यसअगाडी पनि चिकित्सा क्षेत्रमा दुर्लभ मानिएका शल्यक्रिया गरेका छन् । आफ्नै गृहजिल्लामा समेत मासिक रुपमा आउने गरेका डा. कटुवालले हेल्चेक्राई गरिएमा जटिल समस्या हुने भएकाले हाडजोर्नी तथा नशा सम्बन्धि कुनैपनि समस्यालाई चिकित्सकलाई चेकजाँच गराउनुपर्ने सुझाव दिए ।

Leave a Reply