म्याग्दीको सदरमुकाम बेनीमा अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द हुने भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि शुक्रबार राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गर्न लागिएको हो । बेनी नगरपालिकाको अनुरोध, म्याग्दी उद्योग वाणिज्य संघको आग्रह र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको वैठकले अत्यावश्यकबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । वैठकको निर्णयअनुसार आउँदो २१ गतेसम्म बेनी नगरपालिका र वडा कार्यालयहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा बन्द हुने भएका छन् । यसैगरी अत्यावश्यक सेवा र बस्तु बाहेकका पसलहरुमध्ये औषधी पसल २४सै घण्टा खुला हुनेछन् भने अन्य अत्यावश्यक बस्तु तथा सेवाका पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामार्फत अत्यावश्यक बाहेकका सेवाहरु यही कार्तिक १४ गते शुक्रबार राती १२ बजेदेखि आउँदो २१ गते राती १२ बजेसम्म बन्द गर्ने जनाइएको छ । सोही अवधिमा अत्यावश्यक कामबाहेक सुरक्षा र स्वास्थ्यका मापदण्डहरु पालना नगरी घर बाहिर ननिस्कन नगरवासीमा आह्वान समेत गरिएको छ । अत्यावश्यक कामबाहेक उल्लेखित अवधिमा संक्रमित जिल्लाबाट म्याग्दी जिल्ला आवतजावत समेत नगरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय समेत गरिएको छ । पछिल्लो समय कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढिरहेको अवस्थामा आगामी दिनमा यसको संक्रमण अझै तीव्र गतिमा फैलन सक्ने सम्भावना रहेकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवालाई रोक लगाइएको बताइएको छ । अलिे म्याग्दी जिल्लामा कोरोना भाइरसका संक्रमितहरु २३ जना मात्रै छन् । तीमध्ये बेनीको आईशोलेसनमा ३ जना, होम आईशोलेसनमा १५ र बाबियाचौरको संस्थागत आईशोलेसनमा ५ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

Leave a Reply