OLYMPUS DIGITAL CAMERA

तीन वर्ष अघिसम्म सदरमुकाम बेनी आउन तीनदिन लाग्ने म्याग्दीका दुर्गम गाउँका बासिन्दाहरु अहिले बिहान घरबाट निस्केर बेनी आई साँझ आफ्नै गाउँमा पुग्न सक्ने भएपछि दंग छन् । हिमाली जिल्ला म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिई यातायातका साधन संचालनमा आउन थालेपछि स्थानीयले विकास र सुविधा दुवैको अनुभूति गर्न पाएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुले आआफ्ना वडाहरुमा मोटरबाटो पुर्‍याउने कामलाई नै मुख्य ठानेर बजेत विनियोजन गरेपछि दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको हो । गाउँ सडक सञ्‍जालसँग जोडिएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि निकै सहज भएको छ ।

एक नगरपालिका सहित ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक संजालको पहुँच पुगेको छ । धौलागिरि र रघुगंगा गाउँपालिकाका एक(दुई वडामा मात्र यातायातका साधनहरु पुगिसकेका छैनन् भने अरु सबै ठाउँ सडक सञ्‍जालसँग जोडिएका छन् ।

पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकी–नसकी हिड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएका छन् ।

गाउँमा सेवा सुविधा नभएपछि शहरतर्फ छिरेकाहरु पनि गाउँको मुहार फेरिन थालेपछि दंग पर्न थालेका छन् । म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमटिर पश्चिममा रहेको मालिका गाउँपालिकाको वडा नम्बर ७ रुम गाउँका स्थानीय बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए ।

पहिले पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो, कि छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो । तर सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि व्यावसायिक कृषकहरु पनि मख्ख परेका छन् । त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका वडा नं ७ का अध्यक्ष कलानिधि शर्माले बताए ।

गाउँगाउँमा यातायातका साधनहरु गुड्न थालेपछि स्थानीयको जीवन यापन सहजहुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानका अध्यक्ष गमबहादुर फगामीले बताए । गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएका छन् भने स्थानीयको चेतना स्तरमा समेत परिवर्तन आएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । (रासस)

Leave a Reply