म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण भएकाको संख्या १ सय नाघेको छ । गएको बर्षको चैत्र महिना यता कोरोना भाइरसको सक्रिय संक्रमण देखिएयता जिल्लाभित्र नमुना संकलन गरी पिसिआर गरिएका मध्ये ९४ जना र बाहिरी जिल्लाबाट १४ जनाको पोजेटिभ नतिजासँगै कुल संक्रमितको संख्या १ सय ८ पुगेको छ।

म्याग्दीमा १८ सय ६९ जनाको पिसिआर गरिएकोमा १७ सय ४७ रिर्पोट नेगेटिभ आएको छ भने संक्रमतिको दोस्रो र तेस्रो रिर्पोट सहित १ सय २१ नमुनाको पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘मृतकको संख्या औपचारिक रुपमा ३ जनाको आएको छ,‘संस्थागत जानकारी मात्रै रेकर्ड रहन्छ’ प्रमुख लम्सालले भने ।

उनका अनुसार म्याग्दीभित्र स्बाब संकलन गरिएका पोजेटिभ नतिजामा अधिकांस विदेशबाट आएका छन् भने पछिल्लो समयसंक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टी भएको बताए । ‘विदेशबाट आउने भन्दा ट्रेसिङमा परेकामा कोरोना देखिन थालेको छ’ लम्सालले भने । सदरमुकाम बेनी समेत सङ्क्रमणको उच्च जोखिममा परेको छ ।

कोरोना भाइरसका लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएपछि चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दसैको अवधिमा संक्रमतिको दर ह्वात्तै बढेको छ ।’ट्राभल हिस्ट्री’ समेत नभएकामा कोरोना पोजेटिमको रिर्पोटले अवको अवस्था थप जटिल हुनसक्ने भएकाले सतर्कता अपनाउन समेत स्वास्थ्य कार्यालय प्रमुख लम्सालले अनुरोध गरे ।

म्याग्दीमा हाल २५ जना संक्रिय संक्रमितमध्ये १७ जना होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ८ जना छन् । संक्रमतिमध्ये बेनी नगरपालिका १३ जना, मंगला २ र धवलागिरी २ जना होम आइसोलेनमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

त्यस्तै मंगला गापाको संस्थागत आइसोलेसनमा ५ जना र बेनीको खुल्लामञ्चमा ३ जना छन् । बेनीमा समुदायस्तरमै कोरोना फैलिने जोखिमले बेनी नगरपालिका,म्याग्दी उद्योग वाणिज्य संघको आग्रह र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको वैठकले शनिबारदेखि लागु हुने गरी एकसातासम्म बेनीबजारभित्र अत्यावश्यकबाहेक अन्य सेवाहरुबन्द गर्ने निर्णय समेत गरेको थियो ।

Leave a Reply