भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङ गाउँमा एउटा जिर्ण घरभित्रको भर्‍याङ नजिकै एउटी महिला पल्टिएकी छन्। एउटा मात्र कोठामा खाट जोडेर बनाएको ओछ्यान भएपनि ३८ वर्षीया गौरी विक सधै चिसो भुईमा सुत्छिन्।

मानसिक सन्तुलन गुमाएकी गौरीको १२ वर्षदेखि जुनमति विकले दिसापिसाब सरसफाई गर्दै दिन बिताउने गरेकी छन्। कलिलै उमेरमा विवाह गरेपछि एक छोरा भएपनि श्रीमानले अकी श्रीमती विवाह गरे। त्यसपछि गौरी विरामी परेकी हुन्।

उपचार खर्चका लागि आर्थिक अवस्था कमजोर भएपछि घरमा राख्नु पर्ने बाध्यता भएको जनुमति बताउँछिन्। ‘१२ वर्ष भयो छोरी ओछ्यानमै पल्टिएको। उपचार लागि आर्थिक छैन। उपचारमा धेरै खर्च लाग्छ भन्छन्। उपचार गर्न पाए बाँच्छे की भन्ने आशा छ’, उनले भनिन्।

गन्हाउने ओढ्ने ओछ्याउने फेर्न सक्ने पैसासमेत नभएको अवस्थामा छोरीको उपचार गर्न सक्ने अवस्था नभएपछि घरमै राखेको परिवारको भनाइ छ। अपाङ्क भत्ता पाएपछि केही सहज भए पनि उपचारमा एकपटक राम्रो अस्पतालमा लैजना पाए निको हुने परिवारको अपेक्षा छ। मानसिक अस्पताल लगायतका विभिन्न अस्पतालमा लगेर उपचार गराएकोमा नियमित औषधि सेवन तथा जाँच गराउन नसक्दा रोग निको नभएको बताउँदै उपचारमा विक परिवारले सहयोगको याचनासमेत गरेका छन्।

‘आम्दानीको स्रोत केही छैन। एकपटक छोरीलाई अस्पतालम लगेर उपचार गर्ने धोको छ’, परिवारका सदस्यले भने। गाउँमै सडक पुगेकाले सवारी साधनको प्रयोग गरी काठमाडौं सम्म लैजान लागि आवश्यक सहयोगको अपिल समेत गरेका छन् ।

विकको उपचारको लागि वडा अध्यक्ष खड्ककुमारी छन्त्यालले मानसिक सन्तुलन गुमेकी विकलाई अपाङ्ता भत्ताको व्यवस्था गरिएको बताईन्। ‘उपचारमा आवश्यक सिफारिस सहित सहयोग जुटाउन सघाउँछु’ उनले भनिन्। वडाबाट आवश्यक सम्पूर्ण सहयोग हुने उनले बताईन्। जिल्लाको ग्रामिण क्षेत्रमा आर्थिक अभाव र जनचेतनाको अभावका कारण मानसिक सन्तु्लन गुमाएकाले समयमै उचित उपचार पाउन सकेका छैन्।