चिकित्सकहरूले कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अहिले अस्पतालहरूमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरूको आग्रह छ।

हरेक अस्पतालका आईसीयू बेडहरू कोभिडका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ। मौसम परिवर्तन सँगै मौसमी फ्लूका लक्षणहरू देखिएका व्यक्तिहरूले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमको सुझाव छ।

अस्पतालहरूमा आईसीयू बेड खाली नभएको, अक्सिजन उपकरणहरू अपुग रहेकाले संक्रमितहरू अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन्। डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न भनेकी छन्। मौसमी फ्लू र अन्य फ्लूको लक्षण उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने हुँदा आफैंले सतर्कता अपनाउनुपर्ने डा. गौतम बताउँछिन्।

उनका अनुसार सामान्य रुघाखोकी लाग्ने, जिउ दुुख्ने र घाँटी दुख्ने समस्या सामान्य फ्लू भएकाले डराउनुपर्दैन। सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता/दश दिनभित्रमा मौसमी फ्लू निको हुने डा. गौतमले बताइन्।

सामान्य रुघाखोकी लाग्दैमा हतार-हतार अस्पताल पुगेर अस्पतालबाट आफूलाई नभएको फ्लू समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनको आग्रह छ। मौसमी फ्लूका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल पुग्न पनि उनको आग्रह छ।

नेपालमा बन्दाबन्दीको शुरूआति चरणमा सरकार र नागरिकस्तरबाट कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएपनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनको टिप्पणी छ।

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू केही हप्तामा कोरोनामुक्त भएपनि दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धाहरूको ज्यान समेत जाने घटनाहरू बढिरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रूपमा नलिन पनि आग्रह गरिन्।

Leave a Reply