सन् १९९१ को मे महिना । यस महिनामा भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसहरुलाई सताउने गर्दछ । जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो घट्ने क्रम मात्र शुरु भएको थियो । जम्मु कस्मिर क्षेत्रका मानिसहरु आ–आफ्नो दैनिकीमा व्यस्त थिए । भेडाका बथानसँगै घोडाका लस्करहरु चरिरहेका त्यहाँका हरिया खर्क आफ्नै लयमा प्रकृतिको नियमानुसार हराभरा हुँदै थिए ।

त्यसै समय भारत र पाकिस्तान दुवै देशको विवादित क्षेत्र जम्मु कस्मिरमा पाकिस्तानी उग्रवादीहरुको प्रवेश भएको खवर भारत सरकारले गुप्तचरमार्फत् प्राप्त गरेपछि आसाम राइफल रेजिमेन्टका सुवेदार पदमवहादुर क्षेत्री (रावल) को नेतृत्वमा १७ जना सैनिकको टोली कारगिल क्षेत्रमा खटायो । क्षेत्रीको नेतृत्वमा भारत सरकारले ‘रक्षक अप्रेशन’ नामक अभियान कारगिल क्षेत्रमा सञ्चालन गर्यो । म्याग्दीको रत्नेचौरका पदमबहादुर क्षेत्री सानैदेखि निडर र बहादुर त हुनुहुन्थ्यो नै त्यसमाथि आफ्नै नेतृत्वमा पाकिस्तानी उग्रवादीहरु विरुद्ध भारत सरकारले अप्रेशन नै सञ्चालन गरेपछि उहाँको जिम्मेवारी झनै बढ्यो ।

“रच्नेचौरको भूगोलमा सानोमा खेलेको बुर्कुसी र लडिबुडी कार्गिलको टुकडा भन्ने गाउँको भूगोलमा मज्जाले काम लाग्यो” ७२ वर्षिय रावलले भन्नुभयो “दुश्मनसँग लढ्दा मैले त झलझली आफ्नै गाउँको भीरालो जमिन र रातोमाटो सम्झिएको थिएँ, यो माटोको सम्झनाले अझै तागत दिन्थ्यो मलाई ।” सन् १९९१ को मे ५ तारिख आफ्नो जीवनको सबैभन्दा स्मरणीय दिन भएको रावल बताउनुहुन्छ । उहाँका अनुसार सोही दिन रावल नेतृत्वको भारतीय फौज (७ आसाम राइफल रेजिमेन्ट) ले ३८ जना पाकिस्तानी उग्रवादीहरुलाई मारेर जम्मु कस्मिरलाई पाकिस्तानीहरुको नियन्त्रणमा हुनबाट जोगाएको थियो ।

त्यस युद्धमा ७२ जना पाकिस्तानी सैनिकहरु हताहत भएका रावलले स्मरण गर्नुभयो । रावलले भन्नुभयो “तर बिबिसीले ३८ जना पाकिस्तानी मारिएको भनेर समाचार प्रशारण गरेपछि हताहत हुने पाकिस्तानी सैनिकको सङ्ख्या ३८ मा नै सीमित भएको थियो ।” रावल एक्लैले नौ जना पाकिस्तानी सैनिकहरुलाई मार्नुका साथै पाकिस्तानी सैनिकहरुबाट १०३ थान हातहतियारहरु खोस्नुभएको थियो । युद्ध समाप्त भएपछि बिबिसीले रावलको अन्तर्वार्ता समेत प्रशारण गरेको थियो । रावलका अनुसार त्यति धेरै पाकिस्तानी सेनाहरु मारिदा आफ्नो तर्फका जम्मा तीन जना सैनिकले विरगति प्राप्त गरेका थिए ।

रावलले पाकिस्तानी सैनिकसँग देखाएको बहादुरीको कदर गर्दै भारत सकारले सन् १९९२ मा रावललाई कीर्तिचक्र पदकद्वारा सम्मानित गरेको थियो । कीर्तिचक्र भारतको सैनिक क्षेत्रतर्फको परमवीर चक्र पछिको दोस्रो ठूलो सम्मान हो । परमवीर चक्र सैनिक सेवामा महत्वपूर्ण योगदान पुर्याएका सैनिकहरुलाई मरणोपरान्त दिइन्छ भने कीर्तिचक्र सैनिकको जीवनकालमा नै दिइन्छ । रावलले सैनिक जीवनमा भारतीय भूमी रक्षाका लागि गरेको योगदानलाई भारत सरकारले २९ वर्ष पछि पुनः स्मरण गर्दै रावलको नाममा आसाममा हालै सैनिक शिक्षालय स्थापना गरेर सम्मान गरेको छ ।

गत अक्टुवर १८ तारिखमा भारतको आसाम राज्यमा भारत सरकारले पदमबहादुर क्षेत्री सैनिक शिक्षालयको उद्घाटन गरेको छ । आफ्नो नाममा सैनिक शिक्षालय स्थापना भएको खबर पाउँदा अत्यन्त खुशी लागेको रावलले बताउनुभयो । “मलाई त्यहाँको सैनिक मुख्यालयले निमन्त्रणा गरेको थियो, रावलले भन्नुभयो “तर कोभिड १९ को जोखिम र प्रतिकुल समयका कारणले गर्दा म जान सकिन ।”

खुसी र बधाईको लर्को : भारतीय सैनिकबाट सेवानिवृत्त भएपछि गाउँमा नै बनिबुतो र घरधन्दा गरेर दिन काट्ने गर्नुभएका रावल आसाममा आफ्नै नामको सैनिक शिक्षालय स्थापना भएको खबर सामाजिक सञ्जालहरुमा आएपछि भने निकै व्यस्त हुनुभएको छ । खुशी साट्न र बधाई दिन कतिपय व्यक्तिहरु घरमा नै आउने गरेका छन् भने कतिपयले फोनबाट नै खशी व्यक्त गर्दै बधाई दिने गरेका छन् । “मलाई अहिले फोनमा बोल्दा बोल्दै दिन ढलेको पत्तै हुँदैन”, रावलले भन्नुभयो “भारतबाट सबैभन्दा धेरै फोन आउँछ, विदेशमा गएका आफन्तहरु, रिटायर्ड भारतीय सैनिक र अरु धेरै जनाले फोन गरेर बधाई दिनुभएको छ ।”

गाउँघर र आफन्तमा खुसीयाली  : रावलको गाउँ रत्नेचौरमा अहिले खुसीयाली छाएको छ । दशैँको रमाइलो वातावरणमा प्राप्त भएको खबरले रत्नेचौरवासी दंग परेका छन् । आफ्नै गाउँका एक अग्रजको नाममा भारतमा स्थापना भएको सैनिक शिक्षालयले पदमवहादुर रावलको मात्रै नभएर उहाँको जन्मगाउँ रत्नेचौर, जिल्ला र समग्र देशको नै प्रतिष्ठा उँचो बनाएको स्थानीयले बताएका छन् ।

बेनी नगरपालिका वडा नं १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले पदमबहादुर क्षेत्री रावलले प्राप्त गरेको यो सम्मानले रत्नेचौर गाउँ र म्याग्दी जिल्ला मात्रै नभएर नेपाल नै गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो । त्यसैगरी हाल काठमाण्डौँमा बस्दै आउनुभएका नाताले भान्जा पर्ने राम कार्कीेले भारत सरकारले पदमबहादुर रावलको नाममा सैनिक शिक्षालय स्थापना गरेर नेपालीको बहादुरी र इमान्दारिताको सम्मान गरेको बताउनुभयो । उहाँले भन्नुभयो “यो हामी परिवार र आफन्तको मात्र होइन, नेपालले नै प्राप्त गरेको सम्मान हो ।”

रावलको पारिवारिक पृष्ठभूमी : रावलको पारिवारिक पृष्ठभूमी पनि सैनिक विरासतले युक्त छ । पदमबहादुर क्षेत्रीका हजुरबुबा स्व.रणबहादुर रावलले प्रथम विश्वयुद्धमा भारतीय सेनाका तर्फबाट बहादुरी प्रदर्शन गरेवापत मरणोपरान्त सन् १९१४ मा परमवीर चक्र प्राप्त गर्नुभएको थियो । बहादुर बाजेका बहादुर नाति भनेर कहिलएका पदमबहादुरका हजुरबुबा रणबहादुर रावलका दुई श्रीमती हुनुहुन्थ्यो । एउटी श्रीमतीबाट पदमबहादुरका बुबा प्रेमबहादुर रावल र अर्कीबाट लालबहादुर रावलको जन्म भएको थियो । प्रेमबहादुर रावलका दुईभाइ छोरा गोरखबहादुर रावल र पदमबहादुर रावल तथा लालबहादुर रावलबाट सात भाइ छोरा जन्मिए । परमविर चक्र प्राप्त गरेका तिनै रणबहादुर रावलका नौ वटै नाति भारतीय सेनामा भर्ती भएका थिए ।

रावलको सैनिक जीवन : उन्नाइस वर्षको कलकलाउँदो उमेरमा सन् १९६६ जनवरी १५ मा सेभेन (७) आसाम राइफल रेजिमेन्टमार्फत भारतीय सेनामा प्रवेश गर्नुभएका पदमबहादुर रावलको सैनिक जीवन वीरता र बहादुरीको कथाले भरिएको छ ।  आसाम राइफलमा भर्ती भएपछि १४ महिनासम्मको कठोर तालिमबाट उहाँले आफूलाई निखार्दै जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै पछि नहट्ने कसम खाएको बताउनुभयो । सन् १९६६ देखि २००२ सम्म ३६ वर्ष उहाँले भारतीय सेनामा रहँदा एक दर्जनभन्दा बढी युद्धमा लडेको र ती सबैमा विजय प्राप्त गरेको जानकारी दिनुभयो । सन् १९७१ मा पहिलो पटक पाकिस्तान विरुद्धको युद्धमा सहभागी हुँदाको अनुभव निकै रोचक रहेको उहाँले सुनाउनुभयो । त्यस युद्धमा पूर्वी पाकिस्तानको केही भूभाग भारतले नियन्त्रणमा लिएको र पछि बङ्गलादेशमा मिलाइएको उहाँले जानकारी दिनुभयो । त्यसपछि सन् १९७६ मा नागाल्याण्डमा उग्रवादीहरुसँगको भीडन्तमा सहभागि हुँदा कैयौँ उग्रवादीहरु हताहत भएका र सयौँ जना पहरोमा लर्किँदै भागेको दृश्य अझै पनि स्मरणमा रहेको उहाँले सुनाउनुभयो । त्यस्तै मणिपुरमा पनि उग्रवादीहरुसँग नै भिड्नुपरेको र त्यहाँ आफ्नो पक्षका सेनाले हातहतियारहरु गुमाउनु परेको तर मानवीय क्षति भने नभएको उहाँले स्मरण गर्नुभयो । सन् १९९० मा जम्मु कस्मिरमा पाकिस्तानी सेनासँगको युद्ध पनि उहाँले लड्नुभएको थियो । यी लगायत अरु कैयौँ युद्ध र अकल्पनीय भीडन्तहरुमा भारतीय सेनाको तर्फबाट नेतृत्व गर्दै लड्नु परेको उहाँले बताउनुभयो ।

यस्तो छ पदमबहादुरको सेवानिवृत्त जीवन : सन् २००२ मा भारतीय सेनाबाट सेवानिवृत भइ गाउँमा नै बस्दै आउनुभएका रावलको दैनिकी अत्यन्त सरल र सादगीपूर्ण छ । कडा सैनिक अनुशासनमा जीवनका उर्जावान ३६ वर्ष विताउनुभएका रावल गाउँमा अत्यन्त सरल र मिलनसार व्यक्तिको रुपमा चिनिनुहुन्छ । उमेरले ७२ वर्ष पार गरिसक्नु भएका रावल अझै पनि फुर्तिला र तन्दुरुस्त हुनुहुन्छ । रावल सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय रहनुहुन्छ । स्थानीय भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि लिएर अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिसक्नुभएका रावल घरायसी कामहरुमा पनि रुचि राख्नुहुन्छ । देशको परिवर्तित राजनीतिक व्यवस्थासँग रावलको कुनै गुनासो छैन । यसलाई उहाँ जनचाहना र समयको मागको रुपमा बुझ्नु हुन्छ । आफ्नो गाउँमा भएका विकास निर्माण र जनताले पाएका सेवा सुविधाप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँको एउटैमात्र चाहना भनेको गाउँमा व्यवस्थित अस्पताल भैइदिए हुन्थ्यो भन्ने छ । रावलले भन्नुभयो “अरु सबै कुरा राम्रो छ, एउटा सुविधासम्पन्न र व्यवस्थित अस्पताल भइदिए मेरो इच्छा पूर्ण हुनेथियो ।”

Leave a Reply