बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ नगरपालिका-४ कुडुले जोड्ने लामो झोलुङ्गे पुल बन्ने भएको छ । रत्नेचौरको बुढोचौर खेलमैदानदेखि ढोडेनी खोलामाथी झोलुङ्गे पुल निर्माणका लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तरगतको सस्पेन्सन ब्रिज डिभिजनको टोलीले मंगलबार अन्तिम सर्वे सहित टेन्डर खोल्ने तयारी गरेको हो । म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा निर्माण हुन लागेको झोलुङ्गे पुल ३ सय ८२ मिटर लम्बाई र १ हजार मिटर उचाई रहेको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए । ‘यसैबर्ष धेरै काम सम्पन्न हुन्छ,‘पुलले पर्यटनको क्षेत्रमा समेत सघाउने छ’ अध्यक्ष रावलले भने ।

बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्रामको संग्रालयको अवलोकन गर्न आउनेलाई रत्नेचौरको खेलमैदान, धौलागिरी क्षेत्रकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने अध्यक्ष रावलको भनाई छ ।झोलुङ्गे पुल निर्माणका लागि एक करोड ७० लाख रुपैया लागत अनुमान गरिएको छ । रत्नेचौरमा क्षेत्रीयस्तरको खेलमैदान समेत निर्माण भइरहेको छ । त्यस्तै सडक सञ्जालबाट कुडुँले र रत्नेचौर आवतजावत गर्न एक घण्टाको पैदलयात्रा १० मिनेटमै छोटिने छ । रत्नेचौर, ज्यामरुककोट लगाएत आसपासका क्षेत्रका बासिन्दा सदरमुकाम बेनी भन्दा बागलुङमा आर्थिक कारोबार लगाएतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहज हुने अपेक्षा गरिएको भानु मावीका प्रधानाध्यापक भरत खत्रीले बताए । उनले पुलमा विद्यालयका शिक्षकले श्रमदान समेत गरेको बताए। रत्नेचौर हुदै ज्यामरुककोट जाने सडकको कालोपत्र सहित विभिन्न पूर्वाधारको काम समेत धमाधम भइरहेको छ ।

Leave a Reply