म्याग्दीको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने मोटरबाटो निर्माण कार्य सुरु भएको छ ।  रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानीको हलहलेखर्कदेखि धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने मोटरबाटोको आइतबारदेखि सुरु भएको रघुगंगा गाउँपालिका ६ का वडासदस्य टेकजीत छन्त्यालले जानकारी दिनुभयो ।

वडासदस्य छन्त्यालले दिएको जानकारी अनुसार रघुगंगा गाउँपालिकाले यस वर्ष सडकको ट्याक खोल्नका लागि रु १० लाख  बजेट विनियोजन गरेको छ । सोही बजेटबाट सडक निर्माण कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।

ठाडाखानी गाउँको सिरानमा पर्ने हलहलेखर्कदेखि मालिका धुरी सम्म साढे दुई किलोमिटर सडक निर्माण हुने उहाँले जानकारी दिनुभयो । “यस वर्ष १० लाख रुपैयाँ बजेट परेको छ,सोही बजेटबाट काम शुरु गरिएको हो, उहाँले भन्नुभयो “सो बजेटबाट करिब डेढ किलोमिटर सडक खन्न सकियो भने बाँकी चन्दा उठाएर पनि निर्माण गरिछाड्छौं ।”

म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने मालिका धुरीमा मालिका भगवतीका दर्शन गर्न कार्तिके पूर्णिमाका दिन जिल्लाका विभिन्न ठाउँहरुबाट मानिसहरु आउने गर्छन् । यहाँ पूजा र भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

मालिकाको धुरी धार्मिक पर्यटकीय दृष्टिकोणले उत्कृष्ट पर्यटकीय स्थलको सम्भावना रहेको ठाउँ हो । यहाँबाट उत्तरतर्फ हेर्दा अन्नपूर्ण, धौलागिरि, निलगिरि, माछापुच्छ्रे लगायतका दर्जन बढी हिमालहरुको अवलोकन गर्न सकिनुका साथै म्याग्दी, मुस्ताङ, बागलुङ, कास्की लगायतका जिल्लाका अनेकौं वस्तीहरु देखिने ठाडाखानीकी सामाजिक अभियन्ता हिमाली छन्त्यालले बताउनुभयो ।

Leave a Reply