गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो ।

गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

आइसियु कक्ष स्थापना गरिएको चार महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो । प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारीले बताए ।

तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सको व्यवस्थापन आन्तरिकरुपमा व्यवस्थापन गर्न सकिने भए पनि अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको उनकाे भनाइ छ । अधिकारीका अनुसार, अस्पतालमा अहिले आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ ।

अस्पतालमा पछिल्लो समय मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवाल गुनासाे गर्छन्।

बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भेन्टिलेटरसहितको आइसियुको आवश्यकता थप बढेको छ ।

अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।

भेन्टिलेटरको आवश्यकता बढ्यो जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलँदै गएपछि बेनी अस्पतालमा आइसियु र भेन्टिलेटरसहित सेवा सुचारु गर्न थप दबाब बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ ।

आइसियु सञ्चालन नहुँदा यसै सातामात्रै गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ पु¥याइएको थियो । पछिल्लो समय बेनीमा लक्षणसहितका कोरोना सङ्क्रमित बढ्दै गएकाले भेन्टिलेटरसहितको आइसियु सेवाको थप आवश्यकता बढेकाले समितिले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष कटुवालले जानकारी दिए।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने आइसियु स्थापना भएका प्रदेशभित्रका जिल्ला अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि भार बेनी अस्पतालमा रहेको दरबन्दीमध्ये विशेषज्ञ डाक्टरको जनशक्तिको चरम अभाव छ ।

दरबन्दीअनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहो¥याएर डियुटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा एक जना मेडिकल सुपरीटेन्डेन्ट, आठ जना विशेषज्ञ र दुई जना मेडिकल डाक्टरको दरबन्दी रित्त रहेको छ । अस्पतालमा अहिले लोकसेवाबाट दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना गरी नौ जना डाक्टर कार्यरत रहेका छन् ।

हाल कार्यरतमध्ये तीन जना डाक्टरको सरुवा भइसकेको र अन्य केही डाक्टरको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरले रुचि नदेखाउने गरेको पाइएको छ ।

Leave a Reply