पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु अर्को सूचना जारी नहुदाँसम्म बन्द हुने भएका छन् ।

कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि गाउँपालिका तथा वडा नं ६ को विपद् ब्यवस्थापन समितिको बैठकले कात्तिक १९ गतेदेखि लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गर्न लागिएको दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई जानकारी दिए ।

कात्तिक २० गतेदेखि दरबाङबाट सञ्चालित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा बन्द हुने भएका छन् ।  बुधबारदेखि मास्क नलगाई दरबाङ बजारमा प्रवेश गर्नेलाई १ सय जरिवाना, अत्यावश्यक सेवा उपलब्ध गराउने पसलहरु विहान ६ बजेदेखि १० बजे, बेलुकी ४ देखि ७ बजेसम्म खुल्ला, औषधी पसल नियमित खुल्ला हुने अध्यक्ष सुबेदीको भनाई छ ।

‘दरबाङ बजारमा कोरोनाको जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको छ,‘अब सबैले आफ्नो सुरक्षा गरेमात्रै कोरोनाको संक्रमणबाट जोगिन्छ’ सुबेदीले भने । यसैबीच जिल्ला बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने समेत निर्णय भएको छ । पश्चिम म्याग्दीको ब्यापारिक केन्द्र भएकाले दरबाङ संक्रमणको जोखिममा छ ।

दरबाङबाट ६ जनाको स्बाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ । सोही अवधिमा अत्यावश्यक कामबाहेक सुरक्षा र स्वास्थ्यका मापदण्डहरु पालना नगरी घर बाहिर ननिस्कन प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले अनुरोध गरेका छन् ।

गाउँपालिकाउपाध्यक्ष खरमायाँ विटालुको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको प्रभावकारी अनुगमन गरिने जनाइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा कोरोना समुदायस्तरमै फैलिएपछि आगामी शनिबारसम्मका लागि बन्द गरिएको छ ।

 

Leave a Reply