म्याग्दीको सदरमुकाम बेनीमा होम आइसोलेसनमा बसेका कोरोना भाइरसका संक्रमितहरुको अवस्थामा बारेमा बुधबार अनुगमन गरिएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि घरमै बसेका संक्रमतिको अवस्था, जनस्वास्थ्यको मापदण्डको प्रयोग, समस्याका बारे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को टोलीले अनुगमन गरेको हो ।

डिसिसिएमसीका संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारी सहितको टोलीले होम आइसोलेसनको अवस्था र थप सुधारका लागि आवश्यक सुझाव समेत दिएको सदस्य स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए। उनका अनुसार एउटै घरमा रहेका संक्रमतिहरु बसेको कोठा, शौचालय, मास्क, भौतिक दुरी, स्वास्थ्य अवस्थाका साथै तत्काल सुधार गर्नुपर्ने बारेमा सुझाव दिइएको छ ।

होम आइसोलेसनको अवस्था सन्तोषजनक छ,‘समुदायबाट समेत संक्रमतिलाई हौसला दिने काम भएको छ’ लम्सालले भने । होम आइसोलेसनमा रहेका संक्रमितले मापदण्डको अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताए। संक्रमतिको हेल्चेक्राईले समुदायस्तरमै कोरोना फैलिन जोखिम भएकाले समेत मापदण्डको प्रयोग गर्नुपर्ने बताए ।

म्याग्दीमा होम आइसोलेसनमा २६ जना रहेकोमा पहिलो दिन बेनीबजारमा रहेका १९ जना मध्ये ११ जना संक्रमतिसँग भेटघाट गरिएको छ । स्वास्थ्यमा समस्या आएमा तत्कालै उपचार, चिन्ह, लक्षण देखिएमा थप उपचारका लागि स्वास्थ्यकर्मी समेत घरमै पुग्ने ब्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताए ।

‘संक्रमितको अवस्था बारेमा सोजीखोजी गछौं,‘आवश्यक सबै सहयोग उपलब्ध हुन्छ’ प्रजिअ अधिकारीले भने । उनले स्बाब दिएर अनिवार्य होम क्वारेन्टाइनमा बस्ने, नेगेटिभ रिर्पोट आएपनि केहीदिन जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बेनीबजारमा समुदायस्तरमै कोरोना फैलिने जोखिमलाई मध्यनजर गरी अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु आगामी एक हप्ताका लागि बन्द गरिएको छ । म्याग्दीमा कुल १ सय ८ संक्रमति मध्ये सक्रिय संक्रमतिको संख्या ३२ रहेको छ । जिल्लामा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।

Leave a Reply