मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ। गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक रामशरण बस्नेतले बुधबार भवनको शिलन्यास गरेका छन्।

नेचुङमा रहेको ३३ रोपनी क्षेत्रफल जग्गामा निर्माण हुने मौसम अनुकुलित भवन पाँच करोड ६५ लाख रुपैयाँको लागतमा ११ महिनामा निर्माण सम्पन्न गरिने सशस्त्र प्रहरीका गुल्मपति आनन्द थापाले बताए। सीमावर्ती क्षेत्रमा हुने संम्भावित अपराध नियन्त्रण, सीमा सुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गत जेठ महिनामा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको थियो।

सुरक्षाकर्मीलाई नेचुङ भन्सारको क्वारेन्टिनमा व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जना सुरक्षाकर्मी खटाइएको थियो। बीओपी स्थापना भएको छ महिनापछि भवन निर्माण शुरु भएको हो।

मुस्ताङस्थित कोरला नाका सञ्चालन गर्ने लक्ष्यअनुसार २०७३ सालमा सशस्त्र प्रहरीसहित नेपाली सेनालाई लुङ्खुफाटमा एक हजार २७१ रोपनी, भन्सार कार्यालयलाई १०९ रोपनी, जनपथ प्रहरीलाई १३ रोपनी र अध्यागमनका लागि १२ रोपनी जग्गा उपलब्ध भएको थियो।

कोरला नाकादेखि करिब १२ किलोमिटर नेपालतर्फ रहेको नेचुङमा भएको जग्गा उपयुक्त नभएको भन्दै पछिल्लो समय कोरला नाकाको सीमा क्षेत्रमा भन्सारलगायतका पूर्वाधार निर्माण गर्न पुनः एक हजार रोपनी जग्गा छुट्याइएको छ। यसअघि लोमान्थाङको लुङ्खुफाटमा नेपाली सेनाको शिविरसमेत स्थापना भइसकेको छ।
रासस

Leave a Reply