पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा आज राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गर्न लागिएको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि कात्तिक २० गतेदेखि मंसिर १ गतेसम्मका लागि बन्द गरिने भएको हो ।

कोरोना भाइरस समुदायमै फैलिएपछि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यकबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

वैठकको निर्णयअनुसार आउँदो मंसिर १ गतेसम्म गाउँपालिका र वडा कार्यालयहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा बन्द हुने भएका छन् ।

यसैगरी अत्यावश्यक सेवा र बस्तु बाहेकका पसलहरुमध्ये औषधी पसल २४सै घण्टा खुला हुनेछन् भने अन्य अत्यावश्यक बस्तु तथा सेवाका पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने अध्यक्ष रोकाद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामार्फत अत्यावश्यक बाहेकका सेवाहरु सञ्चालन गरेमा कानुनी कारवाही गरिने समेत जनाइएको छ ।

अध्यक्ष रोकाले गाउँपालिकाका कर्मचारी र संक्रमतिको परिवारका साथै समुदायस्तरमा समेत कोरोना संक्रमति भेटिएपछि लकडाउन मोडेलमै बन्द गरिएको बताए । अत्यावश्यक कामबाहेक उल्लेखित अवधिमा संक्रमित जिल्लाबाट म्याग्दी जिल्ला आवतजावत समेत नगरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

Leave a Reply