म्याग्दीको मंगला गाउँपालिकाले नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न रोक लगाएको छ।

गाउँपालिकामा समुदायस्तरमै कोरोनाका संक्रमति भेटिएपछि बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जारी गरेको १० बुँदे निर्देशनमा कात्तिक २० गतेदेखि मंसिर १ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरु बन्द गर्न समेत गरिएकाले तिहारमा देउसीभैलोका कुनैपनि कार्यक्रमहरु सञ्चालन नगर्न भनिएको छ ।

गाउँपालिकाका संक्रमति कर्मचारीको परिवार र चेकजाँच गर्न अस्पतालमा गएका बिरामीमा समेत कोरोना पुष्टी भएपछि देउसीभैलोमार्फत थप संक्रमण फैलिने जोखिमलाई मध्यनजर गरी गाउँपालिका भित्र सानो-ठुलो समुहमा देउसीभैलो कार्यक्रमहरु सञ्चालन नगर्न अध्यक्ष रोकाले अपिल गरे ।

‘जहाँ छौ, त्यही बसेर तिहार मनाऔं,‘संक्रमणबाट जोगिए अर्कोबर्ष टोलटोलमा देउसी खेलौंला’ अध्यक्ष रोकाले भने ।म्याग्दीको सदरमुकाम बेनीपछि समुदायस्तरमा धेरै संक्रमति भेटिएको मंगलाको पाँचवटै वडामा लकडाउनलाई कडाई गरिने, तिहारका अवसरमा खेलिने देउँसीभैलोमा पूर्ण रोक लगाउने निर्णय अनुसार अनुगमन गर्ने बताए । देउसीभैलो सञ्चालनमा रोक लगाउन गाउँपालिकाले समुदायलाई समेत अनुरोध गरेको छ भने वडाका जनप्रतिनिधिलाई समेत कडा निगरानी राख्न निर्देशन दिइएको छ ।

Leave a Reply