प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित म्याग्दीबाटै विस्थापितको पुर्नवास अभियान सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बाढीपहिरो ग्रस्त जिल्ला म्याग्दीबाट विस्थापितको घर तथा आवश्यक पूर्वाधारका काम सुरु गर्न सम्बन्धित मन्त्रालयलाई तयारी गर्न समेत निर्देशन दिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

म्याग्दीको धवलागिरी गाउँपालिकामा बाढीपहिरोबाट विस्थापितको पुर्नवास तथा पूर्वाधारमा बजेटको माग सहित प्रतिनिधिसभा सदस्य थममायाँ थापा सहित पुग्नुभएकी गाउँपालिका अध्यक्ष थमसरा पुन मगर र उपाध्यक्ष रेशम छन्त्याललाई बाढीपहिरो ग्रस्त जिल्लाको सूचीमा म्याग्दी नपरेको पछि मात्रै जानकारी पाएको समेत प्रधानमन्त्री ओलीको भनाई थियो। ‘म्याग्देली जनतालाई प्रधानमन्त्रीको सन्देश पुर्याइदिनुहोस्,‘अर्को बर्खासम्म विस्थापितको घर सरकारले बताउँछ’ उद्धित गदैं गाउँपालिका उपाध्यक्ष छन्यालले भन्नुभयो ।

भेटघाटको क्रममा गाउँपालिका अध्यक्ष पुनमगरले बाढीपहिरो प्रभावितको स्थलगत अनुगमनमा संघीय सरकारबाट मन्त्री समेत नपुगेको भन्दै दुख ब्यक्त गर्नुभएको थियो । भेटघाटकै क्रममा प्रधानमन्त्रीलाई गाउँपालिका भित्रका महत्वपूर्ण योजना सहित विस्थापितको पुर्नवास लगायतका योजनामा बजेट माग गदैं ज्ञापनपत्र बुझाइएको थियो ।

म्याग्दीमा गत असार महिनायताको पहिराका कारण ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । जसमध्ये पूर्ण क्षति भएका २४७ घर पुनःनिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरणको माग संघीय सरकारमा पुगेको छ ।

धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर र अन्नपूर्णका आठवटा बस्तीका १३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ । यस्तै मङ्गलाका नौ बस्तीका १००, रघुगङ्गाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनःनिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ । असार महिनायता म्याग्दीमा पहिराका कारण ३१ को मृत्यु र छ जना बेपत्ता भएका छन् ।

Leave a Reply