नेत्रराज सुबेदी\आँखै अगाडी अग्ला पहराबाट हिमालका दृष्यहरू ठोकिन्छन् । आसपासमा रहेका अग्ला पहाड, ग्रामिण बस्ती सहित आसपासमा रहेका जंगलमा सिजनमा लालीगुँरासको मनोरम दृष्यले पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीमा पुग्ने पर्यटकलाई आर्कषित गर्ने गरेको छ।

म्याग्दीका पुराना पर्यटकीयस्थलको नाकैमुनी सडक सञ्जाल पुगेपछि पदैल तथा नयाँ गन्तब्यको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको झाँक्रीपानीबाट नांगो आँखाबाट जिल्लाका अन्य पर्यटकीयस्थल सहित निरन्तर बगिरहेको म्याग्दी खोला समेत देखिन्छ ।

चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी, सिजनमा राताम्यै फुल्ने लालिगुराँस यहाँका प्रमुख आकर्षणहरु हुन् ।

संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, गणेश हिमाल लगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका सहित पर्वतको समेत केही गाउँ देखिने पर्यटकीय एवं रमणीयस्थल झाँक्रीपानीमा धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ ।

समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित झाँक्रीपानीमा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले समय वितेको पत्तै हुदैन् ।

म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनमा करिव साढे दुईघण्टामा पुगिने तथा मंगला गाउँपालिकाको केन्द्र बावियाचौर, बेनी नगरपालिकाको तातोपानीबाट समेत पैदलयात्रामा करिव साढे तीन घण्टामा पुगिने उक्त स्थानमा कोरोना भाइरसको जोखिमलाई समेत चिदैं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

केहीबर्ष अगाडीसम्म सुनसान हुने स्थानमा पछिल्लो समय पर्यटकको आगमनले धेरै उत्साह थपिएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘कोरोनाका कारण यसबर्ष जान खोजेका धेरै पर्यटक जान पाएनन्,‘पालिकाभित्रकै सुन्दर गन्तब्य बनिसकेको छ, अव थप पूर्वाधार बनाउँछौ’ अध्यक्ष रोकाले भन्नुभयो ।

गत महिना लायन्स क्लव बेनी पिस सिटीले फोटो खिच्ने प्रतियोगिता सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपछि थप चहलपहल भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेशबाट पूर्वाधार सहित होमस्टेका लागि समेत बजेटको ब्यवस्था भएकाले समेत मिठो परिकार गाउँलेले नै बनाउने गरेका छन् । कुनै समय नांगो डाँडा भएपनि अहिले पर्यटकीय गन्तब्यको रोजाईमा परेपछि गाउँपालिकाको पहलमा भ्यूटावर, सामुदायिक भवन सहितका पूर्वाधार थपिएका छन् भने म्याग्दीको सदरमुकाम नजिक रहेको ज्यामरुककोट, भकिम्ली हुदै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका जोड्ने बैकल्पिक पदमार्गको अवधारणा समेत आएको बताउँदै पदयात्रामा रमाउनेलाई एकदिनको बसाई झाँक्रीपानी बनाउने योजना समेत रहेको छ ।

गाउँकै सिरान र घना जंगल आसपासमा रहेको झाँक्रीपानीमा दुर्लभ बन्यजन्तु, बनस्पति जडिबुटीको भण्डार समेत रहेकाले पहिचान गरी आम्दानीको स्रोत बनाउने सकिने स्थानीयको भनाई छ । पर्यटकीयस्थल नजिकै चिनाकोट दरबार समेत रहेकाले स्थानीय उक्त दरबारलाई समेत पुरानो स्वरुपमा मर्मत गर्न सकेमा थप पर्यटकको आगमन हुन सक्ने बताएका छन् ।

विगतमा समेत पर्यटकीयस्थल बनाउन स्थानीयले दर्जनौ प्रयास गरेपनि पूर्वाधारका कारण सफल नभएको अवस्थामा पूर्वाधारमा गाउँपालिकाले चासो देखाएपछि स्थानीयले समेत जनश्रमदान तथा आन्तरिक स्रोतको पहिचान गरी गाउँमै रहेको पर्यटकीयस्थललाई जिल्लाकै आर्कषक गन्तब्य बनाउन तल्लिन छन् ।

धेरै पहिले झाँक्रीहरुको बसोबास भएकाले उक्त क्षेत्रलाई भाक्रीपानी नामाकारण गरेपनि अहिले झाँक्रीपानीमा मगर, दलित र ब्रामरण समुदायको बसोबास रहेको छ ।
तस्वीर सौजन्य किरण कार्की, बिशाल गोतामे

Leave a Reply