युरोपमा रेनेसा (जागरण) कालको सुरूआतमै स्वीस चिकित्सक एवं दार्शनिक पाराचेजस्ले भनेका कुरा असाध्यै प्रचलित छ– ‘विष भन्ने कुरा मात्राले निर्धारण गर्छ।’ यसको अर्थ हुन्छ, कुनै पनि कुरा चाहिने भन्दा बढी खायो भने विषालु भइदिन्छ। मात्राभन्दा असाध्यै धेरै पानी नै पिउने हो भने पनि त्यसले शरीरबाट ‘इलेक्ट्रोलाइट्स’को मात्रा घटाएर ज्यानकै निम्ति खतरा निम्त्याइदिन सक्छ।

यही कुरालाई कोरोना भाइरसको मात्रासँग पनि जोड्न सकिन्छ। अर्थात्, मानिसमा जति मात्रामा कोरोना भाइरस पसेको छ, त्यही हिसाबले उसको शरीरको अवस्था निर्धारण हुन्छ। भाइरसको मात्राकै आधारमा लक्षण नदेखिने, थोरै ज्वरो मात्र आउनेदेखि लिएर सिकिस्तै हुनेसम्मको अवस्था उत्पन्न हुन्छ।

जाडो याम सुरू भएसँगै घट्दो तापक्रममा कोरोना बढ्ने सम्भावनाका बीच यो कुरालाई ध्यानमा राख्दा सायद फाइदा पुग्न सक्छ।

कोरोना पनि अन्य भाइरसजस्तै होः

डार्टमथस्थित युनिभर्सिटी अफ म्यासाचुसेट्सका एसोसिएट प्राध्यापक इरिन ब्रोमेजका अनुसार मानिसलाई कुनै पनि रोगका संक्रामक जीवाणु नै त्यससँग सम्बन्धित भाइरस फैलाउँछ। त्यस्ता जीवाणु थोरै भए पनि त्यसले भाइरस सारिदिन्छ। कडाखाले रुघादेखि लिएर बिफरसम्मका भाइरस त्यसैगरी संक्रमण हुने हुन्।

‘कुनै पनि प्राणीमा थोरै भाइरस पस्यो भने उसलाई खास केही फरकै पर्दैन। त्यसबाट उत्पन्न हुने असर देखै पर्दैन। अलि बढी भएमा त्यसको असर देखिन सुरू हुन्छ र त्यसले निम्त्याउने रोग लाग्न थाल्छ। तर, शरीरले अति नै बढी मात्रामा भाइरस झेलेको छ भने अवस्था असाध्यै गम्भीर बन्छ। त्यसैले मात्रा भन्ने कुरा असाध्यै महत्वपूर्ण हुन्छ,’ ब्रोमेज भन्छन्, ‘यसलाई हामी डोज डिपेन्डेन्ट (मात्रामा निर्भर) भन्छौं।’

कुनै पनि मानव कोष संक्रमित हुन निश्चित मात्रामा संक्रामक भाइरस चाहिन्छ भन्ने जरुरी छैन। एउटा मात्रै भाइरस ठ्याक्कै ठाउँमै पर्‍यो भने पनि त्यसले काण्ड सुरू गरिहाल्छ। यसले कोषका प्रतिक्रिया र प्रक्रिया बन्द गरिदिने क्षमता राख्छ।

यसलाई यसरी पनि बुझौं। गर्भाधानका बेला डिम्बसँग शेचन गर्न एउटै शुक्रकिट पर्याप्त हुन्छ। तर, पुरुषले लाखौं संख्यामा शुक्रकिट पैदा गरिरहँदा डिम्बसम्म पुग्ने सम्भावना अत्यधिक भइरहेको हुन्छ। त्यो ठूलो मात्राले गर्दा नै अनेक अवरोध छिचोल्दै गर्भ बस्ने सम्भावना पक्का गरिदिन्छ। एकपटक गर्भ बसिसकेपछि फेरि गर्भाधान प्रक्रिया अघि बढ्दैन।

भाइरस मात्रा एकैपटक ग्रहण गर्ने वा समय लगाएर?

भाइरसको मात्रा र समयसँग जोडिएको एउटा अर्को पाटो पनि छ।

मानिसको शरीरमा जति भाइरस छन्, ती सबै एकैपटक ह्वार्र प्रवेश गरेका हुन सक्छन् वा केही समय लगाएर छिरेको पनि हुन सक्छ।

‘सार्वजनिक बसका चालक वा इमर्जेन्सी कक्षमा काम गर्नेहहरू अत्यधिक मात्रामा संक्रमण झेल्न सक्ने अवस्थामा छन्, त्यसैले बढी जोखिममा छन् भनिन्छ। यो कतिसम्म सत्य हो?’ ब्रोमेज प्रश्न गर्छन्, ‘कि उनीहरू त्यस्तो जोखिमपूर्ण स्थलमा लामो समय बसिरहेका हुन्छन् जसले गर्दा ठूलो मात्रामा भाइरस ग्रहण गर्न पुगिरहेका हुन्छन्?’

अमेरिकाको रोग नियन्त्रण तथा निवारण निकायले ‘क्लोज कन्ट्याक्ट’ (नजिकको सम्पर्क) लाई अर्थ्याउन आफैंले दिएको बयान परिवर्तन गरेको थियो।

उसले भनेको थियो- कुनै पनि संक्रमितको नजिक १५ मिनेटसम्म थोरैथोरै अवधिका थुप्रै भेट हुनु पनि ‘क्लोज कन्ट्याक्ट’ हो। यसअघि उक्त निकायले कुनै पनि संक्रमितसँग १५ मिनेटसम्म लगातार बसिरहनुलाई ‘क्लोज कन्ट्याक्ट’ भनेको थियो।

यो भाइरसमा मात्र होइन, संक्रमण झेल्ने मान्छेमा पनि भर पर्छः

कोभिड-१९ का लागि भाइरस मात्र एक्लो कारक भनेर औंल्याउनु सही हुँदैन। संक्रमित मानिस पनि कारक हुन्छ। अझ व्यक्तिपिच्छे यो फरक फरक हुन्छ।

‘हरेक व्यक्तिलाई संक्रमित हुन आवश्यक भाइरस मात्रा बेग्लाबेग्लै हुन्छ,’ ब्रोमेज भन्छन्, ‘उदाहरणका निम्ति रोग प्रतिरोधी क्षमता कम भएका वा थकित ज्यान बोकेर बाँचिरहेकालाई थोरै भाइरसले पनि असर पारिदिन्छ। तन्दुरुस्त मान्छेका हकमा परिस्थिति बेग्लै हुनसक्छ।’

यी तमाम कारण एकै ठाउँमा राखेर हेरौं।

सम्भावित संक्रमितको स्वास्थ्य अवस्था र उसका स्वास्थ्यसँग जोडिएका बानी वा लतले यसलाई प्रभाव पार्छ।

जस्तो धूमपान गर्छ-गर्दैन, स्वस्थ्यकर खानपिनमा ध्यान कत्तिको दिन्छ, शारीरिक गतिविधिका हिसाबले कत्तिको सक्रिय छ। राती मजाले सुत्छ कि सुत्दैन?

अलि बुढापाका र स्वास्थ्य पनि गतिलो नभएकाले ठूलो मात्रामा भाइरस ग्रहण गरेर संक्रमित भएमा उसको अवस्था ज्यादै नै नाजुक भइदिन सक्छ। स्वास्थ्य अवस्था खराब भएका मानिसलाई थोरै भाइरसले पनि बिरामी पारिदिन सक्छ। स्वस्थ मानिसले अलि धेरै नै भाइरस लिएको भए पनि पचाइदिन सक्छ।

तर, यदाकदा जवान र स्वस्थ देखिने मानिस पनि त मृत्युकै मुखमा परिरहेका छन् नि!

हो, त्यस्तै एउटा उदाहरण डा. ली वेनलिङको हो। उनी चीन, वुहानका चिकित्सक थिए, तन्नेरी थिए र स्वस्थ पनि थिए। तै पनि कोरोनाका कारण मृत्यु वरण गरे।

आफ्नो अस्पतालमा आएका बिरामीमध्ये सात जनामा सार्सजस्तै देखिने केस उनले गत वर्षको डिसेम्बर ३० मा दिन फेला पारेका थिए। उनले मनैमन यो खतराको सूचक हुनसक्ने अनुमान लगाए। त्यसको चार दिनपछि उनलाई प्रहरीले ‘सामाजिक व्यवस्थामा खलल पुर्‍याएको’ र ‘अनलाइनमा नचाहिँदो हल्ला फैलाएको’ आरोप लगायो।

ती अत्यन्त बिरामी अवस्थामा पुगेका मानिसको हेरचाहमा संलग्न भएलगत्तै लीमा पनि कोरोनाका लक्षण देखिन सुरू भए। त्यसको एक महिना पनि नपुग्दै उनले ३४ वर्षकै उमेरमा प्राण त्यागे।

यति हुँदाहुँदै पनि हामी केबल विषम अनुपात र सम्भावनाका कुरा गरिरहेका छौं। किनकी यो कोरोनाबारे एकरत्ति पनि तलमाथि पर्नेगरी ठ्याक्कै कुरा गर्नु अझै पनि गाह्रो छ।

‘भाइरलको ठ्याक्कै कति मात्राले कसैलाई बिरामी पारिदिन सक्छ भनेर अध्ययन गर्न हामीलाई नैतिकताले दिँदैन,’ सानफ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी संक्रामक रोग विशेषज्ञ एवं मेडिसिनका प्राध्यापक डा. मोनिका गान्धी भन्छिन्, ‘किनभने मानिसलाई कति भाइरसले असर गर्न थाल्छ भन्ने बुझ्न जानाजान उसको क्षमताभन्दा बढी भाइरस हालिदिनु पर्छ।’

डा. गान्धीका अनुसार उनीहरू त्यो मात्रा पत्ता लगाउने कामतर्फ लागेका पनि छैनन्।

‘जनावरमा गरिएको परीक्षणका आधारमा भने जति धेरै भाइरस हाल्यो त्यति बढी संक्रमित भएको देखिइसकेको छ,’ उनी भन्छिन्, ‘त्यसैका आधारमा हामी मानवमा पनि यो कुरा मिल्छ भनेर अनुमानसम्म लगाउन सक्छौं। तर, मानवमा यो मात्राबारे बुझ्न त कसरी सकिएला? त्यो मिल्दैन।’

भाइरल डोज र भाइरल लोड

‘भाइरलका मामलामा पनि सिक्काका दुइटा पाटाजस्ता रोचक तथ्य छन्,’ गान्धी भन्छिन्, ‘भाइरल डोज अर्थात् जुन प्रवेश गरेर संक्रमित बनाउँछ र भाइरल लोड अर्थात् जुन संक्रमित व्यक्तिबाट बाहिरिन्छ।’

कुनै पनि संक्रमित व्यक्तिले आफ्नो शरीरमा बोकेको भाइरसको भार हो भाइरल लोड।

केही अध्ययनले देखाए अनुसार संक्रमित जति ग्रस्त बिरामी भयो उसमा भाइरल लोड त्यत्तिकै बढी देखिएको छ।

‘यदि थोरै मात्र भाइरल डोज शरीरमा प्रवेश गरेको छ भने त्यसले धेरै समस्या गर्दैन। यसले लक्षणविहिन संक्रमण त उत्पन्न गर्छ तर सायद ठूलो भाइरल लोड उत्पादन गर्दैन,’ उनी भन्छिन्, ‘त्यस्ता व्यक्तिले भाइरल लोड थोरै मात्र तयार पार्ने भएकाले खतराको मात्रा पनि कमै हुन्छ।’

गान्धीका अनुसार सही तवरले मास्क प्रयोग गरिएका स्थानमा लक्षणविहीन संक्रमित संख्या ८० प्रतिशतभन्दा पनि बढी देखिएको छ। मास्कले भाइरल लोड कम गर्न सघाउँछ।

मास्क र भ्याक्सिन बीचको सम्बन्धः

भाइरस मात्रालाई लिएर अर्को एउटा रोचक र महत्वपूर्ण पाटो पनि छ।

यदि थोरै भाइरस पस्यो भने त्यसले संक्रमितलाई धेरै खतरनाक चरणसम्म लैजाँदैन। बरू उल्टो रोग प्रतिरोधका मामलामा भ्याक्सिन लगाएजस्तै काम गरिदिन सक्छ। यो असाध्यै उल्लेखनीय र महत्वपूर्ण तथ्यका रुपमा देखिएको छ।

गान्धीले सानफ्रान्सिस्कोकै युनिभर्सिटी अफ क्यालिफोर्नियास्थित महामारी तथा जीवविज्ञान विभागका डा. जर्ज रुथरफोर्डसँग मिलेर एउटा अनुसान्धानात्मक आलेख लेखेकी थिइन्। त्यो आलेख ‘न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा सेप्टेम्बरमा प्रकाशन भएको थियो।

उक्त लेखमा भनिएको छ- कसैले मास्क लगाउँदा लगाउँदै पनि संक्रमित भयो भने उसमा थोरै मात्रै भाइरस संक्रमण हुन्छ। यस्तो अवस्थामा सिकिस्त हुने खतरा पनि कम हुन्छ। अनि रोग प्रतिरोधी क्षमता जागरुक बनाइदिन सक्छ।

गान्धी र रुथरफोर्डले यो तथ्यलाई ‘भेरियोलेसन’ सँग तुलना गरेका थिए। ‘भेरियोलेसन’ बिफर महामारी चलेको बेला संसारले अपनाएको एउटा उपाय थियो। त्यतिबेला मानिसहरूले जानाजान आफूमा थोरै मात्रामा बिफर भाइरस सार्थे। यसबाट रोग प्रतिरोधी क्षमता विकास हुन्थ्यो। यो उपाय मानिसहरूले बिफर खोप आउनुअघि अपनाएका थिए।

‘मानिसलाई थोरै भाइरस हालिदिँदा उनीहरू थोरै बिरामी त पर्छन् तर त्यसैले उनीहरूमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ। यो अत्यन्त प्रभावकारी पनि भएको थियो,’ उनी भन्छिन्।

कतिपय मानिसले आफूमा कोरोनाका केही लक्षण नदेख्दा पनि शरीरमा ‘एन्टीबडी’ विकास भइसकेको फेला पर्नुमा यही रहस्य हुनसक्ने बताइन्छ। तर, यसलाई पक्का गरिहाल्न थप अध्ययन जरुरी छ। थप अध्ययन र तयारी बिना यो कुरा अघि बढाउने हो भने मानिस आफैंआफैं संक्रमित भइदिने सम्भावना बढ्छ र मात्राबारे पनि राम्ररी नबुझेर जथाभावी गर्दा झनै डरलाग्दो अवस्था हुन सक्छ।गान्धी त्यस्तो अवस्था कुनै पनि हालतमा आउन दिन चाहँदिनन्।

बरू उनी अहिलेसम्म जनस्वास्थ्य विद्हरूले भन्दै आएका कुरामै जोड दिँदै हामीले सक्दो आफूलाई सुरक्षित राख्नु उपयुक्त हुने बताउँछिन्। घरायसी मानिसभन्दा बाहिरकासँग सक्दो भौतिक दुरी कायम राखौं, हल वा बन्द कोठाभन्दा हावा चल्ने र घाम लाग्ने खुला स्थानलाई महत्व दिऊँ, आहारविहारमा यथेष्ट ध्यान पुर्‍याऊँ।सबैभन्दा महत्वपूर्ण, मास्क लगाउन चाहिँ नछाडौं।

(सिएनएनका लागि डा. संजय गुप्ता र आन्द्रिया केनले लेखेको स्टोरीको भावानुवाद) Source: Setopati.com