बेनी नगरपालिकामा आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द हुने भएका छन्।

गत कात्तिक १४ गते समुदायस्तरमा कोरोना संक्रमणको जोखिमका कारण बन्द गरिएको सेवालाई थप एक हप्ता गर्न बेनी नगरपालिकाको अनुरोधलाई जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले समय थप गरेको हो ।

एक हप्ताको अवधिमा १ सय ८ जनाको स्बाब संकलन गरिएकोमा २६ जनाको रिर्पोट आउन बाँकी र १९ जनाका कोरोना पुष्टी भएपछि जोखिम कायमै रहेकाले एक साता नियमित सेवाहरु स्थगित गरिएको सहायक प्रजिअ मायाँ कुँवरद्धारा जारी सूचनामा उल्लेख छ ।

उक्त अवधिमा संकलन गरिएको नमुना परीक्षण मध्ये २३ प्रतिशतमा कोरोना पुष्टी भएकाले थप नमुना संकलन, सचेतनामुलक कार्यक्रम गर्नुपर्ने अवस्थाका रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ‘संक्रमतिको रोकको चिन्ह लक्षण देखिन १४ दिन लाग्छ,‘यो अवधिका थप परीक्षणलाई प्राथमिकता दिन्छौ’ प्रजिअ अधिकारीले भन्नुभयो ।

दोस्रो सूचना आज शुक्रबार राती १२ बजेबाट लागू हुने जनाइएको छ। नगरपालिका र वडा कार्यालयहरु, सदरमुकामस्थित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा बन्द हुनेछ ।

यसैगरी अत्यावश्यक सेवा र बस्तु बाहेकका पसलहरुमध्ये औषधी पसल २४सै घण्टा खुला हुनेछन् भने अन्य अत्यावश्यक बस्तु तथा सेवाका पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने छ ।

अत्यावश्यक कामबाहेक सुरक्षा र स्वास्थ्यका मापदण्डहरु पालना नगरी घर बाहिर ननिस्कन नगरवासीमा आह्वान समेत गरिएको छ । अत्यावश्यक कामबाहेक उल्लेखित अवधिमा संक्रमित जिल्लाबाट म्याग्दी जिल्ला आवतजावत समेत नगरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

Leave a Reply