धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकीको भवन तिनवर्ष देखि अलपत्र परेको छ । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो । भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ ।

२०७४ माघ महिनामा भ्याट सहित एक करोड ७४ लाख रुपियाँमा १४ कोठा भएको दुइतल्लाको भवन बनाउन वाइल्ड वाइड जेभी भगवति मालिका कस्ट्रक्सन प्रालि सँग सहरी विकास तथा भवन डिभिजन कार्यालय पोखराले ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता गरेको पहिलो वर्ष निर्माण कम्पनिले भवनको एकतल्ला मात्र ढलान गरेको थियो । भवन निर्माणलाई अलपत्र पारेका ठेकेदार कम्पनिका प्रतिनिधि दुईवर्षको अवधिमा एकपटक पनि कार्यस्थलमा फर्किएका छैनन् ।

निर्माण गरिएको भवन पनि पुरानो र जिर्ण जस्तै देखिन थालेको छ । दुर्गम गाउँमा समयमै भवन निर्माण नुहुँदा स्वास्थ्य सेवा प्रवाह कठिनाई भएको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । ‘पुरानो भवन जिर्ण र साघुरो भएका कारण सेवा प्रवाह गर्न समस्या भएकाले नयाँ भवन बनाउन लागिएको हो,‘भवन नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।

स्वास्थ्य चौकीको भवन निर्माण गर्न स्थानीय सरकार,प्रदेश र सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयवासी छन्त्यालले बताउनुभयो । दुर्गम भएकाले सम्बन्धित निकायको चासो नभएकाले भवन बनाउन निर्माण कम्पनिले हेलचक्राई गरेको स्थानीयवासी दलमान छन्त्यालले बताउनुभयो ।

यता निर्माण कम्पनिका प्रतिनिधि गोपाल भट्चनले दुर्गम र कोरोना महामारीका कारण भवन बनाउन ढिलाई भएको बताउनुभएको छ । विगतमा सडक नपुगेकाले खच्चडबाट सामान ढुवानी गर्नुपर्ने अवस्थाका कारण समयमै भवन बनाउन नसकिएको भट्चनले बताउनुभयो ।

भवन निर्माणको काम यसैबर्ष सम्पन्न हुने भट्चनको भनाई छ । भवन अलपत्र पारेको भन्ने गुनासो आएकाले निर्माण कम्पनिका प्रतिनिधिलाई पत्र लेखेर चाँढो काम थाल्न निर्देशन दिइएको सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख विदुर खड्काले बताउनुभयो ।

Leave a Reply