बेनी नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवासुविधाहरु सञ्चालनमा रोक लगाएपछि म्याग्दी उद्योग वाणिज्य संघले बन्दको कार्यक्रम पुर्नविचार गर्न अपिल गरेको छ । चाडपर्वको मुखमै बन्दले आर्थिक गतिविधिकमा ठूलो असर गरेको भन्दै जनस्वास्थ्यको मापदण्डको पालना गरी ब्यवसाय सञ्चालनको वातावरण बनाउन अनुरोध गरेको हो ।

पहिलो चरणको बन्दमा संघले समेत सहयोग गरेपनि कोरोनाको जोखिम भन्दै दोस्रोपटक बन्द लम्बाइएकोमा ध्यानाकर्षण भएको अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । ‘बजार बन्द गरेर कोरोनाबाट जोगिन सकिदैन्,‘आर्थिक गतिविधिलाई चलायमान गराउँदै कोरोनाबाट जोगिन सकिन्छ’ अध्यक्ष कर्माचार्यले भने ।उनले बेनी नगरपालिका सहित मंगला र मालिका गाउँपालिकालाई समेत बजार क्षेत्रमा जनस्वास्थ्यको मापदण्डको पालना गरी ब्यापारब्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन समेत अनुरोध गरे।

‘चाडपर्वमा रेमिट्यान्सको कारोबार रोकिएको छ,‘आर्थिक गतिविधि ठप्प नै अन्तिम विकल्प होईन्’ उनले थपे । कोरोनाको जोखिम झन् बढ्ने अवस्था रहेकाले बन्दलाई अन्तिम विकल्पको रुपमा नलिन समेत सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

त्यस्तै कात्तिक २५ गतेसम्म मुअकर भुक्तानी गर्नुपर्ने र सो पश्चात जरिवाना समेत लाग्ने भएकाले बन्दको कार्यक्रमलाई स्थगित गरी सहज बनाइदिन बेनी नगरपालिका र जिल्ला प्रशासन कार्यालय, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई पत्र पठाएको छ । नगरपालिकाले आउँदो २८ गतेसम्म, मंगला गाउँपालिकाले मंसिर १ गतेसम्म र मालिकाले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवासुविधाहरु सञ्चालनमा रोक लगाएको छ ।

Leave a Reply