‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आइतबार कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । रेडक्रस उपशाखाले पुलाचौर स्वास्थ्यचौकी, जनकल्याण मावि र पौलस्त्य मावि भीरमुनीलाई स्वास्थ्यका सामग्री सहयोग गरेको हो ।

रेडक्रस पुलाचौर उपशाखाको पहल तथा जिल्ला शाखाको सहयोगमा १ हजार २ सय थान मास्क, ४ लिटर स्यानीटाइजर, २ प्याकेट पन्जा, एकएक वटा प्लाष्टिकको बाल्टी र मख सहयोग गरिएको उपशाखाले जनाएको छ ।

उक्त सामग्रीहरु स्वास्थ्यचौकी प्रमुख रामप्रसाद शर्मा, जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेल र पौलस्त्य माविका शिक्षक दुतबहादुर बानियाँलाई हस्तान्तरण गरिएको थियो । उक्त सामग्रीहरु बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँ र उपशाखा सभापति शिव बानियाँले हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष बानियाँले विगतदेखि नै कोभिड–१९ को संक्रमण रोकथाम गर्न पुलाचौर रेडक्रस उपशाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यसलाई निरन्तरता दिनुपर्ने आग्रह गरेका छन् । सोही अवसरमा बेनी नगरपालिका–५, चिप्लेटीका समाजसेवी एवं भूपू भारतीय सैनिक ईन्द्रबहादुर कार्कीले रेडक्रस पुलाचौर उपशाखालाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँको अध्यक्षता र सचिव रेशम बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपशाखाका निवर्तमान सभापति यामबहादुर बानियाँ, पूर्व कार्यसमिति सदस्य यादवप्रसाद पौडेल, महिला विकास समिति संयोजक शान्ति पौडेल, टोल सुधार समिति भीरमुनीका अध्यक्ष विरबहादुर खत्रीलगायत रेडक्रसकर्मी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply