भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-५, मल्कवाङको बस्ती नजिकै रहेको तामाखानी सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । गाउँ आसपासमा रहेका करिब आधा दर्जन तामाखानीमा अझै तामा भेटिएपनि सम्बन्धित निकायले चासो नदेखाउँदा खानी पुरिदैं थालेको छ।
बर्षौ अगाडी खानी उत्खनन्का क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुंगाहरू समेत खानीभित्र भेटिने गरेपनि सञ्चालनमा सरकारी निकायबाटै चासो नदिइएको स्थानीय यूवा दलमान छन्त्यालले बताए। ‘खानी मात्रै सञ्चालन गर्न सकेमा रोजगारी खोज्न बाहिर जानुपर्ने थिएन्,‘खानीको अवस्थाको अवलोकन गरेपनि चित्त बुझाउनुहुन्थ्यो’ छन्त्यालले भने। उनले तामाखानीको पुनः सञ्चालनका लागि सरकारी निकायमा अनुमति माग्दासमेत बेवास्ता भएपछि अलपत्र परेको बताए। स्थानीय तामाबाटै बनाइएका भाडाकुडा अझै गाउँमा भेटिन्छन्।
मल्कवाङमा सञ्चालन गर्न मिल्ने अवस्थामा रहेका खानीको अवस्थाका बारेमा खानी तथा भूगर्भ विभागको टोलीलाई अनुरोध गरिएपनि गण्डकी प्रदेश सरकारले खानीसम्बन्धी कानुन बनाएपछि मात्रै स्थलगत अनुगमनमा जाने बताएको स्थानीय अगुवा अमर छन्त्यालले बताए । तामाखानीले गाउँलाई आर्थिक रुपमै आत्मनिर्भर बनाउँछ,‘यहाँको तामाबाट बनेका भाडाकुँडा नै प्रमाणको रुपमा देखाउन सक्छौ’ छन्त्यालले भने ।स्थानीय बुढापाकाका अनुसार तामा उत्खनन् गरी भरियाको प्रयोग गरी जिल्ला बाहिर लैजाने गरिएपनि अहिले प्रयोगमा आउन नसकेको बताए । तामाखानीबाट स्थानीयले स्वास्थ्यलाई राम्रो हुने भन्दै पानी लैजाने गरेका छन् ।
यता धवलागिरी गाउँपालिकाले यसअगाडी खानी तथा भूगर्भ विभागबाट सञ्चालनमा चासो देखाएको थियो। म्याग्दीमा सबैभन्दा धेरै तामाखानी धवलागिरीमै रहेको अध्यक्ष थमसरा पुन मगरले बताईन् । ‘खानी सञ्चालनका लागि पत्र लिएर म आफै गएको छु,‘अहिलेसम्म कुर्दा पनि कुनै काम भएन’ अध्यक्ष पुनले भनिन् । उनले अब गाउँपालिकाले नै खानी सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताईन् । गाउँपालिका भित्रका ७ वडा मध्ये अधिकांसमा तामाखानी रहेको छ । जिल्लाका माथिल्लो क्षेत्रमा तामा, चुनढुंगा, क्वार्ज, कप्रक, स्लेटढुंगा, मार्बल र इन्धनका खनिज पदार्थमा तातोपानीका मुहानसमेत रहेका छन् । बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा गाउँपालिकाभित्र समेत दुई दर्जनभन्दा बढी खानी छन् ।