भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-५, मल्कवाङको जनजागृति माविमा कक्षा ८ मा अध्ययनरत सागर लामगाडे झोला बोकेर कक्षा कोठामा पढ्न नगएको ८ महिना भयो ।

गतबर्षको चैत्र महिनामा बार्षिक परीक्षा सकेर घरमै बसेका लामगाडेलाई एकपटक पनि विद्यालयका शिक्षकले सम्पर्क गरेका छैनन् । उनीजस्तै विद्यालयबाट करिब एकघण्टा टाढा रहेका कक्षा ८ का राजन गर्बुजाले साथीहरुसँग भेट्न र पढ्न नपाएको महिनौं भयो ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड– १९) को कारण बन्द भएको विद्यालयमा गएको चैत्र महिनादेखि विद्यालयमा अध्ययनरत साढे २ सय जना विद्यार्थीले विद्यालयमा पाइला नटेकेका छैनन् ।

जिल्लाका अधिकांस विद्यालयले घरदैलो, घुम्ती शिक्षाका साथै विभिन्न माध्यमबाट सञ्चालन गरिएको बैकल्पिक शिक्षामा उत्साहका साथ पठनपाठनमा सहभागी भएको अवस्थामा मल्कबाङमा आधारभुत तहदेखि माविसम्मका विद्यार्थीले पढ्न पाएका छैनन् ।

कोरोना लगायत अनेक बाहनाले कात्तिकको दोस्रो सातासम्म शिक्षक विद्यालयसम्म नपुगेपछि विद्यार्थी बैकल्पिक शिक्षाबाट समेत बन्चित भएको स्थानीय अभिभावक ज्ञानबहादुर विकले बताए । ‘छोराछोरीले अक्षर पनि चिन्न छाडे,‘अहिलेसम्म शिक्षकले विद्यार्थी खोज्नै आएका छैनन्’ विकले भने । उनले कक्षा १ मा अध्ययनरत छोरा मुस्कान विकले विद्यालय नै विर्सिन थालेको बताए।

‘शिक्षकलाई कोरोना बाहना भएको छ,‘कोरोनाबाट जोगिएपछि मात्रै पढ्ने भन्दै घरमै बसेर तलबसुविधा लिएका छन’ विकले भने । विद्यालयका प्रधानाध्यापक जाहुर आलम सहित अधिकांस तराईमुलका शिक्षक लकडाउनपछि बेनीबाट फर्किएर गएका थिए । विद्यालयसम्म जाने वातावरण नभएपछि घर फर्किएका शिक्षकलाई स्थानीयले दवाव दिएपछि पाँचदिन अगाडी विद्यालयमा पुगेर होम क्वारेन्टाइनमा बसेका छन् ।

तराई क्षेत्रबाट भित्रिने शिक्षक, कर्मचारीमा कोरोनाको जोखिम हुने भन्दै सदरमुकामबाटै फर्किपछि विद्यार्थीले खेलेर, घरायसी काम गरेर दिन विताउने गरेको ब्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले बताए ।‘दुर्गमको विद्यालय अपायक पर्ने ठाउँका शिक्षक खटाइएको छ,‘उहाँहरू आउने अवस्था छैन, बाहना पनि धेरै बनाउनुहुन्छ’ अध्यक्ष छन्त्यालले भने ।

उनले जिल्ला भित्रका शिक्षक भएमा पठनपाठनमा सहज हुने बताए । ‘तराई क्षेत्रबाट आएका शिक्षकको भाषा नै बुझिदैन्,‘उहाँहरूमा पनि अपनत्व देखिदैन’ उनले भने। जिल्लाको विकट बस्तीमध्येमा मल्कबाङ समेत पर्छ । छन्त्याल, दलित र जनजातिको बसोबास रहेको मल्कबाङका जनजागृति मावि बाहेक अन्य अधारभुत विद्यालयमा पठनपाठनको काम भइरहेको छ ।

शिक्षण सिकाईमा हेच्चेक्राई गरिदाँ हरेक बर्षको एसईई परीक्षामा समेत विद्यालयको नतिजा कमजोर भएको स्थानीय अगुवा अमर छन्त्यालले बताए । उनले सुगमका विद्यालयका जनशक्ती धेरै भएपनि दुर्गममा अभावै अभाव भएको बताए। विद्यालयमा प्रअ सहित ५ जना तराई र २ जना पर्वत जिल्लाका छन् । स्थानीय शिक्षकले एकैपटक गोल्डेन हेनचेक लिएर निस्किएपछि समस्या भएको अभिभावकको भनाई छ ।

यता शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले कोरोना भाइरसको जोखिमले जिल्ला बाहिरका शिक्षकलाई समस्या भएको बताए। ‘कोरोना फैलिएको जिल्लाबाट आउने शिक्षकलाई धेरै समस्या छ,‘दुर्गमका केही विद्यालयमा बैकल्पिक विधिबाट पठनापाठन सहज हुन सकेको छैन’ प्रमुख थापाले भने ।

अनलाइन, रेडियो, टिभी, स्वाध्ययन सामग्री र सहयोगी सामग्रीको माध्यमबाट वैकल्पिक विधिमा पठनपाठनमा प्राथमिकता दिइएको थापाको भनाई छ । बैकल्पिक शिक्षाको पहुँचमा नभएका विद्यार्थीको पढाईको स्तर खस्कने, पढाईमा रुची घट्न सक्ने जोखिम रहेकाले तिहार लगत्तै कक्षा सञ्चालनको वातावरण बनाउन स्थानीय तहसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

त्यस्तै शिक्षणमा सहज हुने गरी शिक्षकले अभिभावक र विद्यार्थीलाई आवश्यकता परेको अवस्थामा सिधै सम्पर्क गर्न मिल्ने गरी सबै विषयका शिक्षकहरुको सम्पर्क नम्बर उपलब्ध गराइएको छ। संक्रिय संक्रमतिको संख्या न्यून रहेको म्याग्दीमा दुर्गम बस्तीमा बाहिरी क्षेत्रबाट आवतजावत नहुने बस्तीमा समेत विद्यालय बन्द अवस्थामा छन् ।