सहासिक पदयात्राका लागि विश्वमै आकर्षण मानिएको ‘धौलागिरि आइसफल पदमार्ग’को सुन्दर गन्तब्यमध्ये ३ हजार ८ सय मिटर उचाइको सोबाङधुरी पनि हो ।

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने पदमार्ग अन्तरगत रघुगंगा गाउँपालिका-७ चिमखोला र अन्नपूर्ण गाउँपालिका-३ दाना आसपासको सिमानामा पर्ने धुरीबाट विश्वकै सातौं अग्लो धौलागिरी लगायतका लोभलाग्दो हिमालको लस्करसिधै आँखामा ठोकिन्छ । सेता हिमालको तल बादल, स्वच्छ पहाड, आसपासमा बनजंगलको मनोरम दृश्य ।

उच्च पहाडी र हिमाली क्षेत्रहरुलाई समेटेको आइसफलसम्म पुग्ने हरेक गन्तब्य निकै आर्कषक र सुन्दर छन् । जंगलको यात्रा, बस्तीको दैनिकीलाई समेत नजिकबाटै अवलोकन गर्न मिल्ने पदमार्गमा अनकन्टार जंगलभित्रको सुन्दरता थिचोलिन्छ।

नाकै ठोकिने पहाडको यात्रा निकै जोखिम र कष्टकर भएपनि पदमार्गमा बनेका पूर्वाधारहरुले समेत स्थानीयलाई थप सहज बनाएको त्यहाँ पुगेर फर्किएका बेगखोलाका तिलक कुमार तिलिजाको भनाई छ ।

यूवाहरुको समुह पुगेको सेबाङधुरीको पहिचान भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै यहाँ आएका पर्यटकले हिमाललाई नजिकबाट हेर्न सक्ने र तीनै पर्यटकले प्रचार गर्न सजिलो हुने बताउँछन् ।

बेनीदेखि तीन किलोमिटर अगाडि गलेश्वरबाट सुरु हुने यो पदमार्ग, पिप्ले, भगवती हुँदै, रुइसेडाँडा, पक्षत्रधुरी, मुटुकाटे, भेडीओडार, सोवाङधुरी, दहबुकी हुँदै कालीबराह जोडिन्छ ।बेगको धुरीदेखि पछेत्राडिल, पानी डाक्ने डाँडा, दोबाको खोलाखर्क, सोबाङ धुरी हुँदै ल्होसो धुरीसम्म पदमार्ग निर्माण समेत गरिएको छ ।

कालीबराहसँगै आइसफल क्षेत्र जोडिएको छ। कालीबराहबाट मुस्ताङ क्षेत्र प्रवेश गरेर लेते झर्ने र त्यसबाट फेरि दक्षिणतर्फ कुइनेमङ्गले, चिमखोला हुँदै तल्लो क्षेत्र भएर बेनी र्झन सकिन्छ। घनाजङ्गलमा भेटिने घोरल, मृग, डाँफे, मुनाल, चरनखर्कमा भेडा, भैँसी, गाईलगायतका पाल्तु जनावरको हुल, विभिन्न रङका लालीगुराँस, प्राकृतिक भ्यु टावर रबहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन्। एकसाताको समयमा आइसफल भित्रका सबै गन्तब्यमा पुग्न सकिन्छ । तस्वीर सौजन्य तिलककुमार तिलिजा

Leave a Reply