जिल्ला प्रशासन कार्यालय म्याग्दीले सदरमुकाम बेनीबजार लगायत जिल्लाका सबै स्थानीय तहमा तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ ।

बेनी नगरपालिकाको अनुरोधमा पूर्वनिर्धारित समय अगाडी नै बजार बन्दको नियमित कार्यतालिका हेरफेर गदैं जारी गरेको सूचनामा देउसीभैलो खेल्न, भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न समेत निर्देशन गरेको छ ।

कोरोना भाइरस समुदायस्तरमै देखिएको अवस्थामा महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा समेत देउसीभैलो कार्यक्रम सञ्चालन नगर्ने भएकाले सबै स्थानीय तहमार्फत सूचना समेत जारी गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताए ।

‘यसबर्ष देउसीभैलोमा रोक लगाइएको छ,‘स्थानीय तहले समेत रोक लगाएकाले गाउँगाउँमा समेत समुदायलाई खेल्न नदिन अपिल गरेका छौ’ प्रजिअ अधिकारीले भने । उनले अटेर गरी खेलेमा सूचना समेत दिन अनुरोध गरेका छन् ।

जिल्ला सुरक्षा समितिले समेत चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाको समेत प्रभावकारी कार्यान्वयन गर्ने बताइएको छ। पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोगमा समेत प्रहरीले कडाई गरेको छ ।

घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले यसअगाडी मंगला र रघुगंगा गाउँपालिकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाएको सूचना नै जारी गरेका छन् भने अन्य स्थानीय तहले समेत जिल्लाबाटै जारी सन्देशलाई कार्यान्वयन गर्ने जनाएका छन् । दशैंयता म्याग्दीमा कोरोना भाइरसका संक्रमति ह्वात्तै बढेको अवस्थामा चाडपर्वमा थप कडाई आवश्यक रहेको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

Leave a Reply