दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी– कुर्घा खण्डको २२ किमी पक्की सडकका लागि बहुवर्षीया ठेक्का सुनिश्चित भएको छ । पर्वतको बिहादी गाउँपालिका–२ रानीपानीदेखि फलेवास नगरपालिकाको कुर्घा लमाय खोला सम्मको खण्डका लागि आवश्यक १ अर्ब २४ करोड रुपैयाँ बजेटसहित बहुबर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्विकृत दिएको हो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्डका लागि सुनिश्चित भएसँगै अब छिट्टै टेन्डर आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना (गैडाकोट–राम्दी–मालढुंगा) प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो । ‘बहुबर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्विकृति दिएको छ । ’ प्रमुख देबकोटाले भन्नुभयो‘अब दश दिन भित्रै टेण्डर आब्हानको प्रकृया शुरु गर्छौ।’

प्रमुख देबकोटाको अनुसार करिडोरको रानीपानी–कुर्घा खण्ड डेबल लेनमा ७ मिटर कालोपत्रे हुनेछ । यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अथक प्रयासका कारण बहुबर्षीय ठेक्का स्विकृत भएको हो । अध्यक्ष र सचिबालयले आयोजनाको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग, हुँदै अर्थ मन्त्रालयसम्म पहल गर्नुभएको करिडोर प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

‘बहुबर्षीय ठेक्काका लागि सम्मानीय अध्यक्ष ज्युको अथक प्रयास छ।’ प्रमुख देबकोटाले भन्नुभयो ‘अध्यक्षले शुरु देखि अन्तिम सम्म लगातार प्रयास गरेपछि मात्र कालोपत्रेका लागि बहुबर्षीय ठेक्का स्विकृत सम्भब भएको हो।’

यो ठेक्का सुनिश्चित भएसँगै करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहने छ । सो खण्डमा समेत अहिले ट्याक खोल्ने काम भइरहेको छ। पौष सम्ममा ट्रयाक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रकृया अगाडि बढाईने प्रमुख देबकोटाले जानकारी दिनुभयो ।

पर्वतको अर्मादी देखि स्याङ्गजाको सेतीबेणी सम्मको ५३ किमि मध्ये मिर्मी देखि सेतीबेणी सम्मको ७ किमीमा सडक कालोपत्रेको टेण्डर भैसकेको भने सेतीबेणी देखि रानीपानी सम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ । कालिगण्डकी करिडोरको पर्वत खण्डको महत्वपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि बिहादी र फलेवासका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाले सबैभन्दा बढी फाइदा लिने अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । लोकमार्ग किनारमा रहेका रानीपानी, बर्रार्चार, बाच्छा, पाङराङमा बस्ती बिकास हुने छ भने बर्राचौरमा बन्दै गरेको उद्योग ग्राम सडक किनारमा नै छ । तराई र मधेश संग प्रत्यक्ष सम्पर्क हुने तथा सेतीबेणी जस्ता धार्मिक पर्यटकीय स्थलको बिकासका लागि समेत सहयोग पुग्ने अध्यक्ष भुसालले बताउनुभयो ।

‘यो सडक कालोपत्रे भएपछि बिहादी गाउँपालिकाको आर्थिक र सामाजिक बिकासमा कायपलट हुन्छ।’ उहाँले भन्नुभयो ‘राष्ट्रिय राजनितीमा पर्वतका जनप्रतिनिधीहरुको पहुँचका कारण यो सम्भब भएको हो।’ यसैबीच करिडोरअन्तर्गत मालढुंगादेखि बेनी सम्मको सडकको स्तरउन्नतीका लागि हालै टेन्डर आह्वान भएको छ। सो सडकको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो। मुग्लिङ्ग –नारायणगढ सडककै मोडलमा कालोपत्रे हुनेछ ।

Leave a Reply