अबैध रुपमा संचालन भएका ढुंगाखानी, क्रसर उद्योग र जथाभावी उत्खनन गरिएका बालुवा तथा निर्माण सामाग्रीलाई नियन्त्रण गर्न पहल थालिएको छ ।
ढुंगागिटी तथा वालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ पालना नगरेका उद्योगलाई कारवाही समेत गरिने प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए । उनले कानून बिपरितका क्रियाकलाप हुन नदिने जिम्मेवारी पुरागर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना संयोजक, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र प्रहरी उपरिक्षक श्रेष्ठ सहित जिल्ला अनुगमन समितिले बागलुङका क्रसर र नदीजन्य बस्तुको उत्खनन्बाट अबैध र दोहन भएको भेटेपछि कारवाही प्रकृया अगाडि बढाइएको हो । अधिकांसले मापदण्ड पालना नगरेको भेटिएको समितिका सदस्यले बताए ।
अनुगमनमा देखिएका बिषयमा केही दिनमै समितिको औपचारिक बैठक बसेर कारवाही प्रकृया थाल्ने बताइएको छ । पहिलो चरणमा अनौपचारिक अनुगमन भएको हो । अनुगमनको क्रममा गलकोट नगर र बडिगाड क्षेत्रमा बढी समस्या देखिएको श्रेष्ठले जानकारी दिए । गलकोटमा २ वटा क्रसर उद्योग बिना दर्ता संचालनमा रहेको भेटिएको हो भने बडिगाड गाउँपालिकाको विभिन्न स्थानबाट खोलामा जथाभावी मेसिन लगाएर बालुवा उत्खनन् गरेको भेटिएको हो । कतिपय स्थानमा दोहन समेत भएको उनले बताए ।
समितिले गलकोट नगरपालिका ६ को दरमखोला नजिक सिद्दभैरव क्रसर उद्योग, र वडा नं. ११ को ढोरपाटन उद्योग एण्ड कन्स्ट्रक्सनलाई उद्योग संचालनको लागि आवस्यक कागजात पेश गर्न निर्देशन दिएको छ । उनीहरुले उद्योग दर्ताको दावी गरेपनि अनुगमनटोलीलाई तत्काल कागजात देखाउन सकेका थिएनन् । त्यसपछि नगरपालिकालाई अनुरोध गरेर नियमन गर्न भनिएको ढुंगानाले बताए । अनुगमनको क्रममा अधिकांस क्रसर चलाउन स्थानीय पालिकाले वातावरणीय प्रभाव मूल्यांकनका काम पनि नगरेको भेटिएको हो ।
‘हामीले पालिकालाई सहयोग गर्ने हो, उहाँहरुले नीति बनाएर नियमन गर्नुहुन्छ’ श्रेष्ठले भने, ‘सुरक्षाको काम पर्दा हामीले सहयोग गर्नुपर्छ ।’ स्थानीय पालिकामा नीति बनाएर राजश्व संकलन गर्ने र नियम अनुसार उत्खनन् गर्न दिन पाउने प्रावधान छ । तर पालिकाले बिधि बनाउन ढीला गरेकै समयमा ठेकेदारहरुले भने जथाभावी दोहन गरिरहेको भेटिएको हो ।
आवस्यक कागजात पेश गर्न लगाइएका केही क्रसर उद्योग बाहेक अनुमति र राजश्व नतिरी मेसिन लगाएर खोलामा ढुंगा, गिटी निकालेको पनि भेटिएको श्रेष्ठले बताए । उनीहरुले निकालेको सामाग्री जफत गरेर पालिकाले नियम अनुसार बिक्री गर्न आग्रह गरिएको थियो । श्रेष्ठ आएपछि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा अगुगाई समेत गरेका छन् । उनकै नेतृत्वमा जुवातास नियन्त्रण, फरार अभियुक्त पक्राउ जस्ता काम पनि थालिएको छ । दुइ महिनाको अवधिमा जिल्ला प्रहरीले १ सय १६ जना फरार अभियुक्त पक्राउ समेत गरेको बताएको छ । उनीहरुले तिर्ने जरिवाना र जेल सजाय पाउन थालेका छन् ।
एक महिनादेखि बजार र राजमार्ग क्षेत्रमा प्रहरीको गस्तीपनि बढेको छ । श्रेष्ठले प्रहरीमा एमसिसिपी कार्यक्रम लागू गरेको बताए । मिसन, क्राइम कन्ट्रोल र पेट्रोलिङ अभियानबाट अपराध नियन्त्रण गर्न थालिएको उनको दावी छ ।
अबैध क्रसर र उत्खनन् नियन्त्रणकालागि पालिकामा अनुरोध गरेपछि सबैले बिधि बनाएर स्थानीय तहमै राजश्व आउने व्यवस्थापन गर्ने समेत आश्वासन दिएको ढुंगाना बताउँछन् । नदीदेखि ५ सय मीटर दुरीमा क्रसर राख्नुपर्ने, नदीमा खनीखोस्री मात्रै गरेर सामाग्री निकाल्न पाइने प्रावधान उलंघन हुन नदिन अनुगमन थालिएको हो । अघिल्ला बर्षहरुमा दोहन बिरुद्ध सांसद र समितिले पहल गर्दापनि प्रशासनले साथ नदिएको टिप्पणी भैरहेको थियो ।

Leave a Reply