---Advertisement---

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

On: November 12, 2020 1:47 PM
Follow Us:

जनशक्तिको अभाव र उत्पादनमा भैरहेको गिरावटले निराश यहाँका किसानलाई रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न जिल्लाको ढोरपाटन नगरपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायतका रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो ।
गाउँका किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्य बाली लगाउने र कोदोको उत्पादन घटाउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई प्रविधि, उपकरण र बिउँको प्रबन्ध गरेर कोदोबालीको प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले बताए ।
‘स्थानीय जातको बिउँनै लगाएका किसानलाई लगाउने विधि सिकाईरहेका छौं, जसले उत्पादन बढाउँछ’ अधिकारी भन्छन्– ‘कोदोको सबैभन्दा झण्झटिलो काम भनेको फसल लिने बेलको हो, हामीले किसानलाई सजिलोका लागि कोदो झार्ने मेसिन र सुकाउनका लागि त्रिपाल दिने गरेका छौं ।’
किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पुरा गरेर सामग्रीहरु दिने गरेको छ । हालसम्म यहाँका एक सय जना किसानले कोदो सुकाउनका लागि त्रिपाल पाएका छन्भने समुहमा १५ वटा कोदो, जौ र उवा झर्ने मेसिन वितरण गरिएको छ । ‘हिजो गरिबका घरमा मात्रै पाक्छ भन्ने कोदो अहिले तारे होटलमा पाकिरहेको छ’ नगरप्रमुख देवकुमार नेपाली भन्छन्– ‘हाम्रो माटोमा फल्ने कोदो बजारका तारे होटलमा पु¥याउने लक्ष हो ।’
यहाँका किसानले उत्पादन गरेको कोदो, काठमाण्डौ, पोखरा, बुटवललगायतका शहरसम्म पुग्छ । पारिवारिक हिसाबले बजार पस्ने कोदो, जौ र उवालाई व्यवसायीक बनाउनेगरी नगरपालिकाले उत्पादनमा सघाउन थालेको नेपाली बताउँछन् । नगरपालिकाले गतवर्ष १५ लाख रुपैयाँ विनियोजन गरेर कोदो, जौ र उवाको संरक्षण तथा प्रर्वद्धन थालेको थियो ।
तीन वर्षदेखि कार्यक्रम निरन्तर छ । ‘यहाँको कोदोको पिठो ब्राण्ड बनाएर प्याकिङमा बजार पठाउने योजना हाम्रो हो’ कृषि प्राविधिक अधिकारी भन्छन्– ‘किसानलाई रैथाने बालीको व्यवसायीक उत्पादन गर्न सकिन्छ भनेर उत्प्रेरित गरिरहेका छौं ।’
ढोरपाटनको मुख्य बालीनै कोदो हो । त्यसका अलवा यहाँ जौ र उवा धेरै फल्छ । नगरको तथ्यांक अनुसार, अहिले ढोरपाटनमा १० मेट्रिक टन कोदो फलेको छ । स्थानीय जातको डल्ले र झाँप्रे कोदो यहाँ फल्छ । कोदोको विकसित बिउहरु अन्य खाद्यबाली जस्तो नपाईने भएकाले पनि उत्पादन बढाउन कठिन रहेको कृषि प्राबिधिकहरु बताउँछन् ।
यहाँ उत्पादन भएको कोदो स्थानीयले ढिँडो, रोटीजस्ता खानाका अलवा पशु चौपायाको आहारा र घरेलु मदिराको उत्पादनका लागि समेत प्रयोग गर्ने गरेका छन् । बागलुङ कोदो उत्पादनका हिसाबले अग्रणी जिल्लाको रुपमा चिनिन्छ । उच्च पहाडदेखि बेसीसम्म राम्रो उत्पादन हुने कोदो वर्षाको समयमा फल्छ । यसवर्ष वर्षा राम्रो भएकाले ढोरपाटनका अलवा जिल्लाका अन्य ठाउँमा समेत कोदो राम्रो फलेको कृषि प्राविधिकहरु बताउँछन् ।