रोजगारीका लागि साउदी अरब गएका एक म्याग्देली भेडा जोगाउँदा २० बर्षदेखि मृत्युदण्डको सजाय भोगीरहेका छन् । म्याग्दी घर भएका सन्तबहादुर पुन २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा काम गर्न गएको अवस्थामा भेडा चोर्न आएका एक जनाको हत्याको अभियोगमा जेलमा छन् ।

साउदी अरबको कुरैयात जेलमा रहेका म्याग्दीका सन्तबहादुर पुनमाथि २० वर्षअघि मृत्युदण्डको सजाय सुनाइएपनि आवश्यक ब्लड मनिको अभावमा जेल जिवन विताइरहेको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।

चार वर्षपछि बिदामा घर आएर पुनः कार्यक्षेत्रमा फर्किएका पुनले झन्डै दुई सय भेडा चराउने काम पाएको अवस्थामा एक ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदीले भेडा चोर्ने क्रममा आक्रमणको प्रतिकार गर्दा चक्कुले लागेर मृत्यु भएपछि घाईते अवस्थामा प्रहरीले उद्धार गरेको पुनलाई कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।

फैसलासँगै जेलभित्र रहेका पुनको घर फिर्तीको पहल गर्न समेत याचना गरेका छन्। घर फिर्तीमा पीडित पक्षको क्षर्तीपूर्ती वा सहमित आवश्यक पर्ने भएपनि पटकपटक दुतावासबाट गरिएको प्रयास सफल नभएपछि जेलमै रहेको त्यहाँ दूतावासका कन्सुलर भरत खनालको भनाई उद्धित गदैं कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

सन्तबहादुरको मृत्युदण्डको सजायको सम्भावना कम रहेपनि घरफिर्तीमा ठूलै प्रयास आवश्यक रहेको दुतावासका अधिकारीको भनाई छ ।

सन्तबहादुरलाई मृतकका माइलो छोरा इस्लामिक स्कुल (मदरसा) का शिक्षक फाहदले जेलमै भेटेर माफी दिने वचन दिएका छन् भनेजेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिएपछि समस्या भएको बताइएको छ ।

अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई माफी दिन राजी भएपनि मृत्युदण्ड वा माफी दिनेसम्बन्धी विषय कानुनबमोजिम पीडित व्यक्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उच्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन।

साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । सन्तबहादुरलाई बचाउने अन्तिम प्रयासस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले डेढ वर्षअघि नै साउदी राजालाई पत्र लेखेर माफी दिन अनुरोध गरेकी थिइन् ।

पीडित परिवारले माफी नदिएसम्म अन्य कुनै उपायबाट बच्न सम्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहलकदमी नलिन भनेका थिए ।

उनी जेलभित्र सबैभन्दा इमान्दार मानिन्छन् । उनको सहयोगी भावले त्यहाँ कार्यरत सबैले मनदेखि नै सहयोग समेत गर्छन् । जेलभित्रै काम गरेर संकलन गरेको पैसा घर पठाउने गरेपनि अहिले बुढेशकालमा समस्या भएको सन्तबहादुरले बताए ।

सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनुहारको खास याद छैन । उनका शिव, खड्ग र मीनबहादुर गरी तीन छोरा छन्  । शिव शारीरिक रूपमा अशक्त छन् । यता परिवारमार्फत पनि घर फिर्ती अभियानका सघाउने अनुरोध गरेका छन् ।
समाचार र तस्वीर स्रोतः इकान्तिपुर डटकम

Leave a Reply