स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेत । पाँच रोपनी पाखो खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान परालले उठाउन हम्मेहम्मे हुन्थ्यो ।
बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजालले परम्परागत खेतीनै गर्दै आएका थिए । झण्डै पाँच रोपनी जमिन कोतर्न दुई दिन लाग्थ्यो । बुढ्यौली लाग्दै जाँदा त्यही खेती लगाएर खान पनि कठिन हुँदै गयो । उमेर पुगेका छोराछोरी जागिर खोज्थे । परम्परागत खेतीमा चाहना थिएन । भोलालाई लागेको थियो, अब छोराले खेतीपातिको काम धान्छन् । पढाईसँगै जागिर गरिरहेका छोराले वर्षाको समयमा मात्रै थोरै समय दिए भने दुईछाक खान पुग्छ । परिवारको गुजारा चल्छ । तर भोलाले सोचेको जस्तो छोराले भने व्यवहार गरेनन् ।
दोलखाको एक जलविद्युत आयोजनामा काम गरिरहेका महेन्द्र रिजाल बाबुले गर्दै आएको खेतीमा रमाएनन् । उनले आफ्नै गाउँमा रहेको पाखोलाइ कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोचिरहेका हुन्थे । नयाँ हुटहुटी चलिरहेको थियो । कामकै क्रममा उनि दोलखा पुगेका थिए । जहाँ उनले आफ्नैपाखोमा लटरम्म फलेको फल देखे ।
उनको मनको हुटहुटी त्यहि फलमा गएर अडियो । काठमाडौका ठूलाठूला डिपार्टमेन्ट स्टोरमा यूरोप चीनबाट ल्याएको महंगोमा बेचिन्थ्यो । उनले चासोका साथ सोधे र थाहा पाए त्यो किवी फल थियो । महेन्द्र काठमाडौँ फर्केर यो फल आफ्नो गाउँमा फलाउन सकिन्छ वा सकिँदैन भन्ने अध्यनमा लागे । हावापानी उस्तै माटो पनि उस्तै । किबी आफ्नो गाउँमा पनि उत्पादन गर्न सकिने र बजार समस्या नहुने बुझेपछि किबी खेती गर्ने निर्णय गरे । उनले घर छेउको पाखो खेतमा किबी रोप्ने निर्णय त गरे तर त्यो कुराले उनको परिवारको चित्तभने बुझेको थिएन् ।महेन्द्र भन्छन् ‘जवरजस्त बुबालाई मनाएर किबी रोपेको हुँ ।’ परिवारले मानोस पनि कसरी उनीहरुले जीवनमा पहिलो पटक किबी भन्ने नाम सुनेका थिए । परिवारको प्रतिवादका बिचमा लगाएको किबीले अहिले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको प्रस्तावमा अचम्ममा परेका भोलानाथ अहिले खेतबाटै धमाधम बेचिरहेका छन् । पैंयुपाटामा महेन्द्रले तीन बर्ष पहिले करिब ५ लाख खर्चेर ८० बिरुवा भाले पोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ ।
खेतभरि किबी लगाएका महेन्द्रलाई घर खर्च चलाउन कठीन भएपछि अध्ययन र रोजगारी दुवैको खोजीमा साउदी अरव पुगेका छन् । विरुवा लगाएको तीनवर्ष भयो । उनी साउदी लागेको एक वर्ष । ‘अहिले झण्डै पाँच क्विन्टल फलेको छ भन्नुभएको छ बाबाले’ महेन्द्र भन्छन् ‘६०/६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो, म फर्किँदा त सबै विरुवा फल्नेछन् ।’ उनको खेतमा फलेको बोटबाटै प्रति किलो चार सय रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् । ‘अब धेरै छैन, तिहार सकिने बेला सम्म सबै बिक्रि हुन्छ’ उनले भने ‘खेतमै तौलेर धमाधम बेचिरहेको छु ।’
माटो अनुसारको खेतीगर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् । ‘कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन’ उनी भन्छन् ‘अव छोरालाई घरमै बसेर किवीको सुसार गर्न भन्छु ।’ महेन्द्र पनि खेतमा लगाएको सबै बिरुवा फल्न थाले घरमै बसेर किवीकै प्रबद्र्धन गर्ने सोँचमा छन् । ‘बिरुवा रोपेर खर्च चलाउन बिदेश आएँ’ महेन्द्र भन्छन् ‘अब नेपाल फर्किन्छु र यसमै लाग्छु, बाँझो रहेका जग्गा समेत भाडामा लिएर किबी खेती गर्ने सोच छ ।’ उनको किबी खेतीकालागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन्् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए ।

Leave a Reply