कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको मंगला गाउँपालिकाले शुक्रबार दिउँसो देखि खुल्ला गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि कात्तिक २० गतेदेखि मंसिर १ गते राती १२ बजेबाट लागू हुने गरी अत्यावश्यकबाहेक सेवाहरु बन्द गरेकोमा जनस्वास्थ्यको मापदण्ड प्रयोग गरी बजार तथा वित्तिय सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

मंगला–१ बाट उपचारका लागि बेनी अस्पतालमा गएका एक बिरामीमा कोरोना पुष्टी तथा आसपासका स्थानीय तहले समेत बन्द गरेपछि बन्द सहित सुरक्षाको सावधानी अपनाइरहेको अवस्थामा पूर्ण रुपमा जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी नियमित सेवाहरु सञ्चालन गर्ने अध्यक्ष सतप्रसाद रोकाले बताए ।

उनका अनुसार जोखिम कायम भएपनि भिडभाड हुने ठाउँमा जान नदिने, देउसीभैलो लगायत अन्य सार्वजनिक गतिविधि भने पूर्णरुपमा बन्द नै रहेको बताए । सुरक्षा र स्वास्थ्यका मापदण्डहरु पालना नगरी घर बाहिर ननिस्कन समेत अपिल गरिएको छ । अत्यावश्यक कामबाहेक उल्लेखित अवधिमा संक्रमित जिल्लाबाट आएमा अनिवार्य होम क्वारेन्टाइनमा बस्न समेत गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply