७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका-६ दिच्यामका राजकुमार निउरे शुक्रबार स्वदेश फर्किएका छन् ।  मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाण्डौ आइपुगेका हुन् ।

निउरेलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जाली, उद्धारको अभियानमा जुटेका समाजसेवी बलभद्र ढकाल सहितको टोली पुगेको थियो ।

निकै उत्साहित देखिएका निउरेले जेलभित्रै जिन्दगी सकिने अवस्थामा आर्थिक सहयोग जुटाएर उद्धार गरेकोमा धन्यवाद दिएका थिए । ‘झण्डै ७ बर्ष जेलभित्रै बसे, बाहिरी संंसारमा आउँदा फरक अनुभुती भएको छ’ निउरेले भने ।

उनले आफ्नो गन्ती नभएपनि तोकिएको सजाय भोगेर थप ४ बर्ष विताउनुपरेको बताउँदै घर फर्किन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफ्नो स्वागतमा आएका आफन्तलाई देखेर भावुक समेत भएका थिए ।

एरर्पोटमा स्वागत गर्ने क्रममा मोना आइइसीका अध्यक्ष ओमनारायण जुग्जालीले म्याग्देलीको एकता र सहकार्यको एउटा नमुना कार्य भएको बताए । उनले निउरेको घर फिर्तीसँगै ब्लड मनी तिर्न नसक्दा जेलभित्रै रहेका अन्य म्याग्देलीको समेत खोजीकार्य भइरहेको बताए ।

स्वागतमा निउरेकी दिदी पुनम खत्रीले घर फर्किने अभियानमा साथ दिने सबैलाई धन्यवाद दिईन् । वैदेशिक रोजगारीको क्रममा २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे आफ्नै कम्पनीम कार्यरत सहकर्मीको कुटपिटबाट गम्भीर घाईते भएको अवस्थामा उपचारका लागि अस्पतालमा लैजाने क्रममा ज्यान गएपछि दोषी ठहर गरिएको थियो।

साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई जेलमा परेका थिए । यो अभियानमा मोना साउदीले विभिन्न माध्यमबाट सहयोग गरेको थियो ।

विषेशगरी मोना साउदीका कृष्ण चोखालले दुतावासदेखि जेलसम्म पुगेर निरन्तर प्रक्रियामा साथ दिएका थिए भने काठमाण्डौमा बलभद्र ढकालबाट ठूलो सहयोग मिलेको निउरेकी दिदी पुनमको भनाई छ । निउरे घर फिर्ती अभियानको संयोजन गरेको मोना अन्तराष्ट्रियमार्फत ब्लड मनी (क्षतीपूर्ति) का लागि १५ लाख सहयोग हस्तान्तरण गरेको थियो भने अन्य सहयोगबाट थप ५ लाख उपलब्ध गराइएको थियो ।

Leave a Reply