म्याग्दीको रघुगङ्गा गाउँपालिका-१, बेगखोलाबासीले सुविधासम्पन्न १० बेडको अस्पताल बेगखोलामै बन्नुपर्ने माग सहित गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा अस्पताल बनाउने कार्यपालिाकाको निर्णयप्रति असन्तुष्ट बेगखोलाबासीले गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै बेगखोलामै अस्पतालको प्रक्रिया अगाडी बढाउन माग गरेका हुन् ।

वडाका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक अगुवा सहितको टोलीले बेगखोलामा आवश्यक ९ रोपनी जग्गा ब्यवस्थापन गर्न समस्या नभएकाले अस्पतालको निर्माण प्रक्रिया अगाडी बढाउन अनुरोध गरेको स्थानीय पत्रकार दलप्रसाद तिलिजाले बताए ।

उनले बेगखोलामा अस्पताल बनाउने र आवश्यकता अनुसारको पूर्वाधार विस्तारमा समेत गाउँबासीको सहयोग रहेन प्रतिबद्धता समेत ब्यक्त गरिएको बताए। बेगखोलामा तोकिएको अस्पताललाई अन्य क्षेत्रमा स्थानान्तर गर्ने प्रयासको चर्को विरोध भएको थियो ।

ज्ञापनपत्र बुझाउने क्रममा गाउँपालिका अध्यक्ष भण्डारीले बेगखोलाबासीको माग जायज भएपनि गाउँपालिका भित्रका अन्य वडालाई समेत पायक पर्ने ठाउँमा अस्पताल बनाउँदा सबैलाई सहज हुने भएकाले प्रस्ताव गरेको बताए । ‘सबै तिरबाट पायक पर्ने ठाउँ भन्ने भएकाले मात्रै प्रस्ताव गरिएको हो,‘अहिलेसम्म कहाँ बन्ने भन्ने निश्चित भएको छैन’ भण्डारीले भने ।

उनले एउटा स्थानीय तहमा एउटा मात्रै अस्पताल आउने स्वास्थ्य मन्त्रालयका अधिकारीको जानकारीपछि कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पालिकाभित्रका बहुसंख्य नागरिकलाई पायक पर्ने गरी केन्द्र रहेको स्थानमै अस्पताल निर्माण गर्दा स्वास्थ्य उपचारमा सहज हुने भएकाले उक्त निर्णय गरिएको बताएका थिए । कार्यपालिका बैठकले प्रस्ताव गरेको गाउँपालिकाको केन्द्रको समेत मन्त्रालयबाट अनुमोदन समेत गरेको छैन् ।

अस्पतालक बनाउन आवश्यक मापदण्ड सहितको जग्गा ब्यवस्थापन, माटो परीक्षण तथा मन्त्रालयको विज्ञ सहितको टोलीको स्थलगत अनुगमन गरी अस्पताल बनाउन योग्य भएको प्रतिवेदनको आधारमा कुल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि ८५ लाख बजेट प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

उनले आवश्यक प्रक्रिया पुरा गर्न सकेमा गाउँपालिकामा समयमै सुविधासम्पन्न अस्पताल बनाउन सकिने बताए। यता बेगखोलबासीले जग्गा ब्यवस्थापनको कार्यलाई अन्तिम रुप दिएर छिटै अस्पताल शिलन्यासको प्रक्रिया अगाडी बढाउन समेत गाउँपालिकाको ध्यानार्कषण गराएका छन् ।

यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत बेग स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि एक करोड ३५ लाख बजेटबाट काम अगाडी बढेको छ । नेपाल सरकारले देशरभरी नै एक स्थानीय तह एक अस्पतालको शिलन्यास गर्ने तयारी गरेको भन्दै स्थानीय तहलाई मापदण्ड पुरा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्न समेत अनुरोध गरेको छ ।

Leave a Reply