म्याग्दीमा कोरोना संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि संस्थागत आइसोलेसन खाली भएको छ । समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएपनि बेनी अस्पताल र स्थानीय तहको समन्वयमा खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवन तथा स्थानीय तहका अस्थायी कोरोना अस्पतालमा संक्रमित छैनन् ।

जिल्लमा रहेका २२ सक्रिय संक्रमति सबै आफ्नै घरमा बसेका छन् । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका भित्रका २२ संक्रमति मध्ये १३ पुरुष, ८ महिला र अन्नपूर्ण गाउँपालिकाकी एक संक्रमति महिला होम आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीमा सदस्य सुरत केसीले बताए ।

‘होम आइसोलेसनमा आवश्यक मापदण्ड पुरा गरिएको छ,‘स्वास्थ्यकर्मीको सहयोग तथा अनुगमन समेत भइरहेको छ’ केसीले भने ।  उनले पालिकास्तरमा रहेको कोरोना रोकथाम समितिले संक्रमतिको रेखदेख तथा ब्यवस्थापनका साथै थप संक्रमण फैलिन नदिने गरी जनस्वास्थ्यको मापदण्डको प्रयोग समेत गरेको बताए ।

होम आइसोलेसनमा सबै कन्ट्रयाक्ट ट्रेसिङबाट पोजेटिभ आएका संक्रमति छन् । जिल्लामा सबैभन्दा जोखिममा रहेको बेनीबजार सहित स्थानीय तहसँग समन्वय गरी डिसिसिएमसीका संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारी सहितको टोलीले होम आइसोलेसनको अनुगमन समेत गरेका छ ।

टोलीले संक्रमतिहरु बसेको कोठा, शौचालय, मास्क, भौतिक दुरी, स्वास्थ्य अवस्थाकाका साथै सुधारका विषयमा समेत सम्बन्धित स्थानीय तहलाई जानकारी समेत गराइएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । स्वास्थ्यमा समस्या आएमा तत्कालै उपचार, चिन्ह, लक्षण देखिएमा थप उपचारका लागि स्वास्थ्यकर्मी समेत घरमै पुग्ने ब्यवस्था मिलाइएको छ ।

त्यस्तै विदेशबाट आउने तथा जिल्ला बाहिरबाट आउनेमा कोरोनाको लक्षण देखिएमा होम क्वारेन्टाइनमा प्रोत्साहन गरिएको छ । कालिपुलस्थित होल्डिङ सेन्टरमा विवरण संकलन गरी स्थानीय तहसँग समन्वय गर्ने गरिएकाले सहज भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । म्याग्दीमा कुल १ सय २४ संक्रमति मध्ये सक्रिय संक्रमतिको संख्या २२ रहेको छ । जिल्लामा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि समुदायमै कोरोना फैलिने जोखिम ह्वात्तै बढेको छ ।

Leave a Reply