एउटा पुरानो भनाइ छ–‘चाहिदाँको भाडो नचाहिदाको ठाडो’। माथिको भनाइले मानिसहरुलाई आफूलाई आवश्यकता पर्दा खोजी–खोजी प्रयोग गर्ने र अन्य समयमा बेवास्ता गर्ने बेनीमा भेटिने पशुचौपायाको अवस्थाको चित्रण गर्छ ।

म्याग्दीको कालिपुल बसपार्कमा गएको कात्तिक १९ गते एक टिपरले ठक्कर दिँदा गाई घटनास्थलमै मर्यो । मरेको गाईको बाच्छोले दुध तान्दै गरेको एक हृदयविदारक तस्वीर सार्वजनिक भएपछि धेरैको मन छोयो । टिपरले ठक्कर दिएर मरेको गाईलाई प्रहरीको सक्रियतामा खाल्टो खनेर पुरियो। टिपर चालकले उन्मुक्ती पाए, सामाजिक सञ्जालबाटै घटना हरायो ।

बि.श २०७४ असार २४ गते बेनीबजारको न्यूरोडमा सवारीसाधनको ठक्करले गाई मरेपनि ठक्कर दिनेको सवारीसाधन र चालकको पहिचान हुन सकेन् । म्याग्दीको सदरमुकाम बेनीका यी दुई प्रतिनिधिमुलक घटना मात्रै हुन् ।

बजारको मुख्य चोक र भित्री गल्लीहरुमा समेत पशुचौपाया बाक्लै देखिने छाडा पशुचौपाया बजार क्षेत्रबाट विस्तारै हराउन थालेपछि रातको समयमा पशुचौपायलाई सवारीसाधनले ठक्कर दिएर घाईते गराउँदा समेत उपचार तथा दोषीको पहिचान हुन सकेको छैन् ।

सदरमुकाम बेनीबजार नजिकै गाई काटेर मासु खादै गरेका चारजनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । दुध दिने दिनसम्म पाल्ने त्यसपछि ग्रामिण क्षेत्रबाट बजारमा ल्याएर छोड्ने र गाई तिहारमा खोजीखोजी पूजा गर्ने गाईको ब्यवस्थापन नहुदाँ ठक्कर र अज्ञात रोगको शिकार हुने गरेको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

‘बेनीबजारका पशुचौपायाको ब्यवस्थापन हुन सकेको छैन्,‘दुर्घटना निम्त्याउने र रोगको संक्रमण दुवैको जोखिम छ’ कार्यालय प्रमुख नारायण कुसुमले भने । यता बेनी नगरपालिकाकाले समेत विभिन्न स्थानमा छाडा पशुचौपायाको ब्यवस्थापनका लागि आवश्यक प्रयास गरेको जनाएपनि ठोस परिणाम आउन सकेको छैन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले केही स्थानमा संस्था नै दर्ता गरी छाडा पशुचौपायाको ब्यवस्थापनको प्रयास भएको बताए । ‘संख्या बढ्न नदिने, भएकालाई ब्यवस्थापन गर्ने प्रयासमा छौ’ उनले भने । चरन क्षेत्र भएका तथा धार्मिकस्थल आसपासका क्षेत्रमा कान्जी हाउस बनाउन पहल भइरहेको बताए ।

राष्ट्रिय जनावरसमेत रहेको गाईलाई हिन्दू नेपालीले गौमाताको रुपमा पूजासमेत गर्छन् । हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । गाईले दूध दिनुका साथै खेत जोत्नका लागि गोरु पनि दिने भएकाले हिन्दू धर्ममा गाईको विशेष महत्व छ। गाईको पिसाब (गहुँत) पनि धार्मिक कार्यका लागि आवश्यक र पवित्र मानिन्छ ।

तस्वीर सामाजिक सञ्जाल

Leave a Reply