म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम दरबाङ्ग हुँदै करिब दुई दिन लगातार हिंडेपछि धवलागिरी गाउँपालिका वडा नं. ४ बगर भन्ने गाउँमा पुग्न सकिन्छ । धवलागिरी हिमालको काखमा अवस्थित यस बगर तातोपानी बेनी सदरमुकामदेखि करिब ७० कि.मि.को दुरीमा रहेको छ भने यस तातोपानी कुण्ड समुन्द्री सतहदेखि करिब २६ सय मिटर उचाईमा रहेको छ । पहिलेपहिले त्यस गाउँका मान्छेहरु पैदल हिंडेर दुई दिनमा बेनीबजारमा आई पुग्दथे भने अहिले यातायातको सुविधाले गर्दा एकैदिनमा बेनी आई पुग्दछन् ।

अहिले दरबाङ्ग–धारापानी–ताकम–मुना–दर हुँदै मुदी गाउँसम्म मोटरबाटो पुगेको छ भने अर्को बेनी ढोरपाटन जोड्ने सडक मार्ग बेनीदेखि दरबाङ्ग–बिम हुँदै मराङ्ग कल्लेनीसम्म पुगेको छ । तर सडक निर्माण कार्य भइरहेकोले यस मार्गमा भने मोटर चलेको छैन । भौगोलिक दुरीको हिसाबले दुुर्गम तथा कुनाकाप्चा मानिने मुदी बगर गाउँ प्राकृतिक हिसाबले भरिपूर्ण देखिन्छ । शिरमा सुन्दर धवलागिरी हिमाल चम्किरहेको छ । त्यस हिमालको फेदमा वरिपरि जंगल र बीचमा स्न्दर बगरको गाउँ छ । गाउँदेखि एक डेढ घण्टा हिंडेपछि अमर्केको सुन्दर झरनाको काखमा रहेको तातोपानी कुण्डमा सजिलै पुग्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यको साथमा विविध जैविकताको धनी गाउँको रुपमा यस बगर गाउँलाई चिनिन्छ । यही कारण वर्षौं पहिलेदेखि यस क्षेत्रमा पर्यटकीय क्षेत्रको रुपमा विकास गरी धवलागिरी पदमार्ग खोलिएको थियो । यस पदमार्ग हुँदै धवलागिरी वेशक्याम्प, इटली वेशक्याम्पसम्म पुग्न सकिन्छ ।  सिजनमा सयौं जना विदेशी पर्यटकहरु यसै पदमार्गमा आवतजावत गर्दछन् ।

यो वर्ष भने कोरोनाको महामारीका कारण सुनसान प्राय छ ।यसका साथै एक हप्तासम्म पैदल हिंड्न सकियो भने मुस्ताङ्ग जिल्लाको मार्फा तथा लेतेमा निस्कन सकिन्छ । यसरी पर्यटकीय हिसाबले पनि उत्तिकै सुन्दर मानिने यस बगर गाउँ स्वर्ग जत्तिकै सुन्दर प्रकृतिमा रमेको छ । यति धेरै प्राकृतिक सौन्दर्य एवम् जैविक सम्पदाको धनी हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा यहाँको अनुपम सुन्दरता ओझेलमा परेको छ ।

वि.सं. २०५६ सालतिर हामी बगर जाँदा नाउराको ठाडो अप्ठ्यारो विकराल भिरमा नाम मात्रको बाटो थियो । एक ठाउँको भिरमा काठको भ¥याङ्ग हालेको थियो । त्यस भ¥याङ्गमा उक्लिँदा म र मेरो साथी सञ्जय जुग्जालीको सातोपुत्लो गएको थियो । यही भिरमा हामी पुग्नुभन्दा करिब तीन वर्ष अघि पाँच जना मान्छे भिरमा लागेको डढेलोले डढेर मरेका थिए । यही कहालीलाग्दो भिरको बाटोमा यहाँका मान्छेहरुले भेडा, बाख्रा तार्ने गर्दथे ।

नुनको भारी, अन्नको भारी बोकेर हिंड्ने गर्दथे । यसरी ज्यादै जोखिममा यात्रा गरिरहेका थिए । समय बित्दै गयो । केही वर्ष पश्चात् माओवादी जनयुद्धकालमा माओवादी जनसेनाले नै डरलाग्दो अप्ठ्यारो भिरको बाटो खन्ने दुस्साहस ग¥यो र अप्ठ्यारो भिर पहरा जनसेनाले नै खनिदियो ।बाँकी सजिलो भागको बाटो बगरबासीहरुले खनेका थिए । त्यसपछि ६ घण्टा लाग्ने बाटो अहिले दुई घण्टा मात्रै लाग्ने भएको छ । त्यस समयदेखि बगरबासीहरु बाटो हिंड्न पाएका छन् । त्यहाँको तातोपानी कुण्डमा पुग्नका लागि करिब दुई घण्टा उकालो र एक घण्टा जेल्टुङ्गको ओरालो झरेपछि मात्रै तातोपानी कुण्डमा पुग्न सकिन्छ ।बिचमा म्याग्दी नदी तरेर जानुपर्छ तर त्यहाँ झोलुङ्गे पुल नभएकोले त्यहाँका मान्छेहरुले वर्षेनी काठेपुल निर्माण गरेर पारिपट्टि तातोपानी कुण्डमा जाने गरेका छन् । यद्यपि काठेपुल नहुने हो भने पारीपट्टिको तातोपानी कुण्डमा पुग्ने सम्भावना छैन । अहिलेसम्म त्यहाँका समुदायले यसरी नै दुःखसुख गुजारा चलाएको देखिन्छ ।

यहाँको प्राकृतिक सम्पदालाई राज्यको सम्पत्तिमा परिणत गर्ने हो भने यस ठाउँमा राज्यको नजर पुग्न अत्यन्तै जरुरी देखिन्छ । किनकी त्यस तातोपानी कुण्ड प्रकृतिको अनुपम सुन्दरताको काखमा झुमिरहेको छ । धवलागिरी हिमालको फेदमा चम्किरहेको छ । सुन्दर छहराको साथ मुस्कुराइरहेको छ । यहाँको तातोपानी कुण्डले दशौं होइन, हजारौं पर्यटकहरुको पर्खाइमा छ ।