म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ। जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमङ्गमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए।

‘अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले  एक करोड ५० लाख र गण्डकी प्रदेश सरकारले  ५० लाख विनियोजन गरेको छ’, अध्यक्ष भण्डारीले भने, ‘पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ‘ट्र्याक’ खोल्ने काम भइरहेको छ ।’ जलविद्युत् आयोजनासँग ट्र्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ।

मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको गौरवको आयोजना हो।मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इञ्जिनीयर कमल चोखालले बताए। गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक फरक ठाउँमा काम गर्ने उनले बताए।

चिमखोला र कुइनेमङ्गलमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ।दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको दर्मीजाका अगुवा सुबिन शेरपुञ्जाले बताए।

‘अजिङ्गर भिरमा करिब एक किलोमटिर ट्र्याक खुलेपछि रघुगङ्गा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिनेछन्’, उनले भने , ‘भिरमा करिब १५० मिटर ट्र्याक खोलिसकिएको छ ।’ गत आर्थिक वर्ष प्रदेश सरकार र सङ्घीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक विनियोजन गरेका थिए।

विसं २०६७ मा स्थानीयवासी, तत्कालीन जिविस र गाविसको  ६० लाख लागतमा निर्माण भएको भगवती, बेग– चिमखोला हुँदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो।

हाल गाउँमा सडक पुगे पनि स्थानीयवासीले यातायात सुविधा भने पाएका छैनन्।जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेको खरिबोटका खिमबहादुर छन्त्यालले बताए।

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर पाँच/छ घण्टामै बेनी आउन सकिन्छ।दर्मीजा, चिमखोला र कुइनेमङ्गलेका करिब एक हजार घरधुरी भिरपहरा, जङ्गल र खोल्साखोल्सीमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा गर्नुपर्छ।

खच्चर, भरिया र ट्र्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ।निर्माणाधीन सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ।अजिङ्गर भिरमा सडक बनेपछि सो क्षेत्रको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगङ्गा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

Leave a Reply