कोरोना भाईरस (कोभिड–१९)को कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय खोल्ने प्रक्रिया सुरु भएको छ । बिहिबार नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक सहित बसेको बैठकमा जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी विद्यालय सञ्चालन गर्ने आवश्यक तयारी सुरू गरेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख हरिकुमार श्रेष्ठ सहित वडा अध्यक्ष, प्रअ र शिक्षा शाखाका प्रतिनिधिको सहभागितामा भएको छलफलमा विद्यालय सञ्चालनको ढाँचा तयार गरी खोल्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

‘अव कोरोनाबाट जोगिन आवश्यक मापदण्डको तयारी पहिलो प्राथमिकतामा राखेर विद्यालय सञ्चालन गरिन्छ,‘सबै तयारी पुरा भएपछि विद्यालय सञ्चालन हुन्छ’ उनले भने ।

नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने प्रअ सहितको टोलीले अनुरोधलाई नगरपालिकाले सकारात्मक रुपमा लिएका सदरमुकाम बेनी सहित ग्रामिण क्षेत्रमा सबै विद्यालय एकसाथ खोल्ने गरी तयारीमा जुट्न समेत शिक्षा शाखालाई निर्देशन दिइएको छ ।

झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर मात्रै विद्यालय सञ्चालन गरिने छ ।

त्यस्तै कोरोनाको लक्षणसँग मिल्ने समस्या भएका बिद्यार्थीलाई समेत बैकल्पिक ब्यवस्था गर्ने सोच नगरपालिकाले गरेको छ । विद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सवै कक्षा संचालन गर्ने वा विहान, दिउँसो र साँझ गरेर सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । नगरपालिकाले आइतबारसम्म आवश्यक ठोस निर्णय गर्ने जनाइएको छ ।

Leave a Reply